प्रकाशित मिति : सोमवार, साउन २७, २०७६
काठमाडौं । काठमाडौंको बिजुलीबजार नजिक रहेको पशुपति सुनचाँदी पसलमा हिजो आज सुन चाँदीको व्यापार ह्वात्तै घटेको छ।
गएको शुक्रबारको दिन त पशुपति सुनचाँदी पसलमा (बोहनी) हुन पनि २ बज्यो। २ बजेपछि एउटा चाँदीको एउटा औंठी बिक्री भए। त्यसपछि अलिअलि सामान विक्री भयो।
सुनका ग्राहक घटेपनि चाँदीको कारोबार भने पहिलेकै जसरी निरन्तर चलिरहेको सुनचाँदी व्यवसायी बताउँछन्। पशुपति सुनचाँदी पसलका निर्देशक रोहन दुतदासले भने, ‘सुनको त कुरै नगरौं। चाँदीको व्यापार भने निरन्तर पुरानै रेसियो अनुसार चलिरहेको छ।
दुतदासका अनुसार दैनिक लाख मुल्यबराबरको कारोबार हुने बेलामा २ हजारको कारोबार पनि छैन। सुनको कारोबारका लागि पसलमा आएका ग्राहकहरु पनि खरिद गर्ने भन्दा बिक्री गर्ने बढी आउने गरेका छन्।
उनका अनुसार कतिपय पसलहरु त बन्द नै हुने सम्भावना छ। खरिद गरेको सुन बिक्री नहुने भएपछि दोहोरो घाटा पर्ने हुँदा केही व्यापारीहरुले पसल नै बन्द गर्ने सोच बनाइसकेका छन्।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक महिनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बढेर ७० हजार रुपैयाँ पुगेपछि व्यापार घटेको हो।
यो सिजनमा दैनिक २०/२५ केजीभन्दा बढी कारोबार हुनुपर्नेमा १० केजीको पनि कारोबार नभएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए।
उनले भने, ‘व्यवसायीहरुले यो सिजनमा दैनिक २०/२५ केजीसम्म पनि सुन किनबेच गर्थे तर हिजो आज सुन किन्ने ग्राहक ह्वात्तै घटेपछि मुस्किलले १० केजीसम्मको कारोबार भैरहेको छ।’
अध्यक्ष विश्वकर्माका अनुसार अब सुनको भाउ घटबढ हुने भन्ने बारेमा अन्तर्राष्टिय बजार अनुसार भोली सोमबारको बैठकमा थाहा हुन्छ।
शुक्रबारदेखिकै सुनको मूल्य ७० हजारमा कारोबार भैरहेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij