प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६
नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष ७ अर्ब २० करोड खुद नाफा कमाएको छ। नेपालमा विजुली उत्पादन तथा वितरणमा एकल अधिकार भएको प्राधिकरणले अघिल्लो वर्षको तुलनामा १४९ प्रतिशतले नाफा बढाएको हो।
आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ९० करोड नाफा कमाएको प्राधिकरणले ०७५/०७६ मा ७ अर्ब २० करोड कमाएको हो। प्राधिकरणको नाफा एक वर्षमै ४ अर्ब ३० करोडले बढेको हो।
गएको वर्ष प्राधिकरणले चुहावट घटाएको दाबी गरेको छ। उसका अनुसार गएको वर्ष कूल विजुली आपूर्तिमा १५ प्रतिशत मात्रै चुहावट रहेको छ। जुन अघिल्लो वर्ष २० प्रतिशत थियो।
गएको तीन वर्षमा चुहावट १० प्रतिशतले न्यून भएको प्राधिकरणले जानकारी दिएको छ।
गएको वर्ष प्राधिकरणले सरकारको ढुकुटीमा भने १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ। उसले साँवा, ब्याज र रोयल्टी गरी कूल १५ अर्ब ५९ करोड बुझाएको हो।
गएको वर्ष नेपालका ४५ लाख जनसख्यामा बिजुलीको पहुँच पुगेको छ। पहुँच १० प्रतिशतले बढेको प्राधिकरणले जानकारी दिएको छ।
गएको वर्षसम्म नेपालमा उत्पादन विद्युत ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) रहेको छ। यसमा प्राधिकरणले ३४, निजी उत्पादकको २९ र भारतबाट आयात गर्ने बिजुलीको हिस्सा ३७ प्रतिशत रहेको छ।
प्राधिकरणले गएको वर्ष कूल ३७ अर्ब १६ करोडको बिजुली किनेको छ। यसमा भारतबाट मात्र २३ अर्ब ३ करोडको किनेको हो। बाँकी स्वदेशकै निजी उत्पादकबाट किनेको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij