आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“पशुपति क्षेत्रमा मान्छे गाड्ने चिहानघारी बनाउनु हुँदैन”- नेता नेपाल

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६



  • काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरुले माग गरेका छन्। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिले आज पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजना गरेको गुरुयोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पशुपति क्षेत्रमा मान्छे गाड्ने चिहानघारी बनाउनु नहुने बताए।

    “अरु देशमा शव गाड्नेले आफैँ जमीन किन्छन्, यसरी किनिएको जमीन पनि ५० वर्षसम्मलाई हुन्छ, यस्तो मैले इटाली भ्रमणमा जाँदा पनि देखेको थिएँ, आर्यघाट र भष्मेश्वर घाटमा दाउराबाट शव जलाउँदासमेत प्रदूषण फैलिएकाले विद्युतीय शवदाह गृहबाट जलाउन प्रोत्साहन गरिनुपर्छ”, उनले भने।

    पशुपति क्षेत्रमा सफाइ कर्मचारी सङ्ख्या बढाएर पर्यटकलाई आऊँ आऊँ लाग्ने बनाउनुपर्ने सुझाव पनि नेता नेपालले दिए। विश्वका एक अर्ब हिन्दूले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्ने गरेको उल्लेख गर्दै उनले तिनलाई आकर्षित गर्न सके नेपालको धार्मिक पर्यटन प्रवद्र्धन हुने बताए।

    पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पनि पशुपति क्षेत्रमा शव गाडेर सिमेन्टको संरचना बनाएर कुरूप बनाउनु नहुने विचार राखिन्। महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने नाङ्गा एवं गाँजा, भाङ र धतुरो खानेलाई पनि रोक लगाउनुपर्ने उनको भनाइ थियो।

    सांसद मोहन बानियाँले पशुपति क्षेत्रको पूर्वाधार निर्माण एकद्वार नीतिअन्तर्गत कोषले मात्र निर्माण एवं सम्पदा संरक्षणको काम गर्नुपर्ने बताए। पशुपति क्षेत्रलाई मसानघाट बनाउन दिनुनहुने उनको विचार थियो। १२५ जाति सबैलाई पशुपति क्षेत्रमा शव गाड्न दिए पशुपति क्षेत्रको सांस्कृतिक महत्व नै नष्ट हुने सांसद बानियाँको भनाइ थियो।

    सांसद नारदमुनि रानाले पशुपतिका मूलभट्ट एवं भट्टले शपथ खाने ११ शिवलिङ्ग व्यक्ति÷व्यक्तिको घरभित्र रहेकाले तिनलाई कहिले मुक्त गरिने हो भनी प्रश्न गरे। भ्रमण वर्षलाई सहयोग पुग्ने गरी पशुपतिमा सूचना एवं जानकारी दिने व्यवस्था गर्न पनि उनले माग गरे।

    उपसमिति संयोजक सांसद सुजिता शाक्यले शौचालयमा पनि पुरातात्विक महत्वका उमामहेश्वरलगायत महत्वपूर्ण मूर्ति भेटिएकाले कोषलाई व्यवस्थित गर्न निर्देशन दिए। पशुपति क्षेत्रलाई आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने गरी गुरुयोजना निर्माण गर्न पनि उनले सुझाव दिए।

    कोटेश्वर–जडीबुटी–बौद्ध हुँदै चक्रपथ विस्तार गर्न माग

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण गरी प्रतिवेदन तयार पारिरहेकाले गुरुयोजना निर्माणमा ढिलाइ भएको बताए। चैत मसान्तसम्म गुरुयोजना तयार पार्ने गरी काम अघि बढाइएको उनले संसदीय समितिलाई जानकारी दिए।

    “कोटेश्वरबाट गौशाला हुँदै चाबहिल निस्कने चक्रपथ १२ लेनमा विस्तार गरिने भन्ने सुन्नमा आएको छ, विमानस्थलबाट चावहिलसम्म पशुपति क्षेत्र पर्छ, तिलगङ्गाबाट चाबहिलसम्म महत्वपूर्ण सांस्कृतिक सम्पदा छन्, सयौँ वर्ष पुराना पुरातात्विक महत्वका यी सम्पदा भत्काउन मिल्दैन, यसैले चक्रपथलाई कोटेश्वरबाट जडीबुटी हुँदै बौद्धलाई पनि भित्र पारेर चक्रपथ लैजान गुरुयोजनामा प्रस्ताव गर्दैछौँ”, सदस्य सचिव ढकालले भने।

    सम्पदा क्षेत्रबाट ठूला सवारी आवागमन हुँदा जयवागेश्वरी, निर्वाणेश्वर÷निर्वाणेश्वरी, धन्दो चैत्यलगायत पुरातात्विक संरचमा ध्वनि एवं धुलोले असर गरेकाले पनि चक्रपथ सार्नुपर्ने कोषको माग छ। पशुपति क्षेत्रका सम्पदा सार्न नमिल्ने भएकाले चक्रपथ सार्न पहल गरिदिन पनि उनले समितिका सांसदहरुसँग अनुरोध गरेका थिए।

    गुरुयोजना निर्माण समिति संयोजक एवं कोषका पूर्वसदस्य सचिव चेतोनाथ गौतमले कम्तीमा आगामी ५० वर्षसम्मलाई हेरेर पशुपति क्षेत्रको गुरुयोजना बनाउन लागिएको सुनाए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ध्रुवस्थलीबाट संरक्षित स्मारक क्षेत्र शुरु हुन्छ। यहीँ नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका विस्तारका क्रममा संरचना बनाउन लागेको सुनिएकाले छलफल गरेर मात्र अघि बढ्नुपर्ने पूर्वसदस्य सचिव गौतमको भनाइ थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij