प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ताजस्तो बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन संसदमा बोल्दै देउवाले यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने चेतावनी दिए ।
उनले भने, ‘सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो’ कांग्रेस सभापति देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’
शान्तिपूर्ण रुपमा भेला हुँदा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै उनले उनीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्न पर्नु दुःखद रहेको बताए । जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको उनको आरोप छ ।
देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप समेत लगाए । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकिकरण तथा शक्ति सन्तुलनको संबैधानिक व्यवस्था विपरित सरकारले न्यायपालिका माथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई खेलौना बनाउने काम गरेको दाबी उनले गरे ।
संबै संवैधानिक निकायहरु स्वतन्त्र हुनुपर्नेमा सरकारले मानवअधिकार आयोग माथि नियन्त्रण गर्ने काम गरेको तथा सरकारका कामकारवाहीलाई निगरानी गर्ने स्वतन्त्र आयोगहरु लाई पनि नियन्त्रणमा राख्ने काम भएको जिकिर उनले गरे ।
उनले संघीय संरचना अनुसार तीनै निकायमा अधिकार बाँडफाँड गर्नुको सट्टा सरकार अधिकारको दुरुपयोग गर्दे संघीय सरकारको शक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको आरोप लगाए ।
उनले संविधानको भावना विपरित सरकारका सबै गलत क्रियाकलाप विरुद्धमा नेपाली कांग्रेसले संसदमा कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
उनले संविधान विपरित सरकारले संचार जगतलाई नियन्त्रण गर्ने , राजनीतिक आस्थाको आधारमा सरकारी संचारमाध्यममा कार्यरतलाई हटाउने लगाय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम गरेको टिप्पणी गरे ।
सरकार गठनको डेढ बर्ष पुग्दा सम्म संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधानको मर्म र भावना अनुरुप संघीयता कार्यान्वयनको बाकी कार्यभार पुरा गर्न असफल हुनु अन्त्यन्तै दुखद पक्ष भएको टिप्पणी उहाँले गरे ।
उनले सुरक्षा जस्तो संवेदनशील विषयमा संविधान विपरित कानुन बनाउने, प्रतिपक्षी दलको विरोधका बाबजुत संसदबाट वलजफ्ती विधेयक पारित गर्ने , विवादास्पद विधेयक बनाउने काममा सरकार अग्रसर भएको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij