प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता जनाएका छन्। तर त्यसका लागि सबैलाई धैर्य गर्न पनि प्रधानमन्त्री ओलीको विशेष आग्रह छ।
संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गरे।
‘संविधान दिवसको अवसर पारेर म फेरि प्रतिवद्धता जाहेर गर्दछु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्–हुन्छन्। यस अभियानको नेतृत्वमा म छु,’ प्रधानमन्त्रीले भने, ‘तर त्यसका लागि धैर्य गरौं–अढाई दशकदेखिको खजमजिएको स्थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्ने जस्ता प्रश्नहरुमाथि एक चोटी पुनर्विचार गरौं।’
प्रधानमन्त्री ओलीले मुलुक बनाउने ठोस आधार प्रस्तुत गरे। ‘हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन्। अनुकूल जलवायु छ । राजनीतिक स्थिरता छ। तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ। युवा क्रियाशील जनशक्ति ठूलो छ,’ यसैलाई परिचालन गरेर मुलुकको काँचुली फेर्ने प्रधानमन्त्री ओलीको योजना छ।
प्रधानमन्त्री ओलीले युवा पुस्ता छिप्पिनु अघि नै विकासको तीव्र गतिको दौड पूरा गर्नुपर्ने जनाए। उनले जनताको मुर्छित सपनाहरुलाई साकार पार्न सरकार दृढतापूर्वक लागि परेको जनाए।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्ष नहुन पनि आह्वान गरे। उनले संविधान विरोधी गतिविधिमा संलग्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा आउन ढिलाई नगर्न पुनः आग्रह गरे।
‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थाहरुलाई पनि यसले यसै अवधिमा मूलधारमा फर्काउन सफल भएको छ,’ उनले भने, ‘जो अझै बाटो भुलिरहेका छन्, उनीहरुले पनि मूल धारमा आउन ढिलाई गर्नु हुन्न।’
प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएको उल्लेख गर्दै राजनीतिको नाममा शान्ति, सुरक्षा र मुलुकको राष्ट्रिय एकतालाई खल्बल्याउने खालका संविधान र कानुन विपरितका गतिविधिलाई सरकारले कडाईका साथ रोक्ने चेतावनी दिए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले हालसम्म हासिल गरेको उपलब्धिहरुको चर्चा गर्दै समृद्ध, सुःखी र सभ्य मुलुक निर्माण हुने आधार तय गरिएको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij