प्रकाशित मिति : बुधबार, मंसिर ४, २०७६
मंसिर १४ गते हुने उपचुनावको मुखैमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विद्रोह सुरू भएको छ । जनताले झुक्याउने गरी चुनावका बेला ठूल्ठूला गफ दिने तर काम केही नगर्ने कम्युनिस्ट प्रवृत्तिको विरोध गर्दै दाङमा सयौं कम्युनिस्ट नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पूर्व एमालेबाट उम्मेदवार बनेका कम्युनिस्ट नेता रेश्मा डाँगीको नेतृत्वमा ५१ जना कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । आईतबार बिहान हापुरेमा भएको कार्यक्रममा २ सय १५ जना कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बदनाम हुँदै गएकाले स्थानीय क्षेत्रमा कार्यरत नेता कार्यकर्ता असन्तुष्ट देखिएको छन् । नेता कार्यकर्ताको असन्तुष्टिको असर उपनिर्वाचनमा देखिने र त्यसबाट कांग्रेसलाई फाइदा हुने विश्लेषण हुन थालेको छ ।
कांग्रेसका नेताहरूले दाङ क्षेत्र नम्बर ३ (ख) बाट उम्मेदवार बनेका केशव आचार्यको संघर्ष र शालीनताले जीत सुनिश्चित रहेको बताएका छन् । आईतबार पश्चिम दाङको बबई गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरूले विभिन्न आन्दोलनको नेतृत्वकर्ता आचार्यको जीत नै निष्ठाको राजनीतिको जीत हुने स्पष्ट पारेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा शालिन व्यक्तित्व आचार्यको जीत नै दंगालीहरूको जीत हुने बताएका छन् । ‘पश्चिम दाङको विकास कांग्रेसको सरकारले गरेको हो । गत निर्वाचनमा कांग्रेस पराजित हुँदा पश्चिम दाङबासीलाई ठूलो क्षति भएको छ,’ उनले भने ।
आगामी उपनिर्वाचन सेमिफाइनल जस्तो भएको भन्दै नेता उनले अहिलेको निर्वाचनमा कांग्रेसले जीते मात्रै फाइनलमा कांग्रेसको जीत सुनिश्चित हुने बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले कांग्रेसका उम्मेदवार आचार्य लोकतान्त्रिक आन्दोलनका धरोहर भएको बताउँदै उनैलाई मतदान गर्न अपिल गरे । गौतमले कम्युनिस्टका कारण मुलुकको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत भएको बताएका छन् ।
कम्युनिस्ट सरकारको अन्यायविरुद्ध दाङको समृद्धिका लागि नेपाली कांग्रेको चुनाव चिह्न रुखमा मतदान गर्न उनले अपिल गरेका छन् । उम्मेदवार केशव आचार्यले आफूलाई मतदान गरेर जनपक्षीय नेतालाई जिताउन आग्रह गरेका छन् । ‘कम्युनिष्ट सरकार लर्बराउन लागेको छ, खबरदारीका लागि पनि यस पटक नेपाली कांग्रेसले जित्नुपर्छ,’ उनले भने ।
बबई गाउँपालिकाका सभापति बलबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले कम्युनिस्टको ज्यादतीविरुद्ध खबरदारी गर्न केशव आचार्यको जीत अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले कम्युनिस्ट अतिवादलाई झापड दिन कांग्रेसको जीत आवश्यक रहेको बताएकी छन् ।
कार्यक्रममा पूर्व सांसद बुद्धिराम भण्डारी, पूर्व सांसद गेहेन्द्र गिरी, महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, दाङ कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, जिल्ला सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, युवा नेता सुरेश हमाल, महिला नेतृ देविका नेपाली, तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती लगायतले धारणा राखेका थिए । कार्यक्रम वडा इकाई सभापति अम्बर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij