प्रकाशित मिति : बिहिबार, मंसिर २६, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताएका छन्।
चावहिल साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफी दिने प्रवृत्तिका कारण उनीहरुमा डर हराएको र डर नै नभएपछि अराजकता बढेको बताए।
विश्वका अन्य मुलुकहरुमा काम नगर्नेलाई माफी भन्दा पनि दण्ड सजाय बढी हुने भएकाले विकास पनि भएको तर हाम्रो देशमा त्यसको ठिक उल्टो भएका कारण निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उनको भनाइ छ।
निर्माण सुरु भएको लामो समय वितिसक्दा समेत चाबहिल साँखु सडकखण्ड कालोपत्रे नभएको सन्दर्भमा नेता नेपालले पहिलो पटकलाई माफी दिइएको र अबपनि काम नभए कडा कारवाही हुने बताए।
ढिला काम गर्ने प्रवृति, समन्वयको अभाव, सहयोगित भावनाको कमीका कारण उक्त सडकखण्डमा ढिलाइ भएको भन्दै उनले चैत मसान्तभित्र सम्पन्न गर्न ठेकेदारलाई भनेको बताए। निर्माण सम्पन्न गर्न दिइएको समयसीमा कुर्दै काम गर्ने प्रवृति हाबी भएकोले कुनैपनि कामहरु गुणस्तरिय र समयमा सम्पन्न नहुने उनले बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले चाबहिल–साँखु सडक खण्ड यस आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
सरकार भौतिक पूर्वाधारको क्षेत्रमा तिव्र ढंगले विकास गर्न अगाडि बढेको उनकाे भनाइ छ। सबै तहका जनप्रतिनिधिलाई साथमा लिएर संघीय सरकर रुग्ण आयोजनाहरुलाई यथासिघ्र सम्पन्न गर्ने योजनामा सरकार रहेको उनको भनाइ छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij