प्रकाशित मिति : आइतवार, माघ २६, २०७६
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिनपनि अवरोध गरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरोध गरेका थिए ।
काँग्रेस सांसदहरुले उभिएर अवरोध गरेपछि सभामुखले बस्न आग्रह गरेकका थिए । सांसदको आग्रहसँगै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले बोल्न खोज्दा पनि सभामुखले माइक खोलेनन् ।
सामान्यतयाः कार्यव्यवस्था परामर्श समितिमा बैठक अवरुद्ध हुने विषयमा जानकारी हुन्छ । कसलाई बोल्न दिने भन्ने विषयमा समेत समझदारी बनेको हुन्छ । तर आज त्यसो हुन सकेन् ।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै काँग्रेसले लगातार तेस्रो पटक बैठक चल्न नदिएको हो ।
सभामुख सापकोटाले आइतबार समेत गरी तीन पटक सम्म बैठक अवरुद्ध भएको बताउँदै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सुचारु गर्न सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका थिए ।
२ पटक संसदबाट प्रतिपक्षी दलले आफ्नो कुरा राखिसकेको भन्दै उनले आज बैठक सुचार गर्न गरेको आग्रह कांग्रेसले मानेन् ।
संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै उहाँले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताए । बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरे ।
नेताहरुको प्रतिक्रिया
संसद बैठक स्थगित भएपछि प्रतिकृया दिँदै कांग्रेस सांसदहरुले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन प्रकृया गलत भएकोले तेस्रो पटक संसद अवरुद्ध गरेको जनाएका छन् ।
सांसद दिलेन्द्र प्रसाद बडुले किन छानबिन गरियो भनेर नभइ छानबिनको प्रकृया गलत भएको भनेर विरोध गरिएको बताए । संसदमा छलफल गरेर टुंगिने विषय नभएको आफुहरुलाई थाहा भएपनि अदालतमा मुद्दा पु¥याउने प्रकृया निष्पक्ष र कानूनसम्मत नभएको उनले बताए ।
कानून सबैलाई समान हुनेभएपनि एउटै कानूनलाई फरक फरक ढंगले ब्याख्या गरेर मुद्दा अगाडी बढाउने विषय आपत्तिजनक भएको उनले बताए ।
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लगातार तीन पटक कांग्रेसले संसद अवरुद्ध गरेपनि अरुबेला जस्तो सरकारसँग कुनै माग नै नराखेको बताए । संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीपनि नजोडिएको बताए ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले अख्तियारले भेदभावपूर्ण रुपमा निर्णय गरेको भन्दै लगातार संसद बैठक अवरुद्ध हुनु राम्रो नभएको भन्दे यो विषयलाई गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाउनुपर्ने बताए ।
तरुण दल प्रदर्शन
यता, कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
कांग्रेसले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको हो ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना लगायतका भातृ संगठनहरुका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि थिए ।
प्रदर्शनमा दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार जस्ता नाराहरु लगाइएका थिए । माउ पार्टी कांग्रेसले लगायता तेस्रो दिन संसद बैठक अवरुद्ध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij