प्रकाशित मिति : सोमवार, अशोज १९, २०७७
काठमाडौं। सत्तारुढ दल नेकपाले मंगलबारका लागि पार्टी सचिवालय बैठक बोलाएको छ। सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि सचिवालय बैठक बोलाइएको प्रचण्ड निकट स्रोतले जनाएको छ।
सोमबार प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठक बोलाइएको हो। गएको शनिबारका लागि बोलाइएको बैठक आइतबारका लागि सारिएको थियो। प्रधानमन्त्रीका सल्लाहाकारसहित ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको बैठक पनि स्थगित गरिएको थियो।
डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गरिएपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच फेरि विवाद बढेको छ। यही विषयमा छलफल गर्न भन्दै सचिवालय बैठक बोलाउन प्रचण्डले दबाब दिँदै आएका छन्।
हालै सम्पन्न स्थायी कमिटी बैठकले सरकारले महत्वपूर्ण नियुक्ति गर्दा पार्टी सचिवालय बैठक बस्ने र दुई अध्यक्षबीच परामर्श गर्नुपर्ने निर्णय गरेपछि विवाद समाधान भएको थियो। तर, प्रधानमन्त्री ओलीले सरकारका निर्णयमा प्रचण्डसँग परामर्श नगरेको भन्दै फेरि दुई अध्यक्षबीच अविश्वास पैदा भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij