प्रकाशित मिति : शुक्रबार, माघ ९, २०७७
कर्णाली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाए।
कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गरे। “देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ”, अध्यक्ष नेपालले भने, “यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ।”
पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उनले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध जनाए। अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पारे।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij