आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइविना शपथको तयारी

  • प्रकाशित मिति : बुधबार, माघ २१, २०७७



  • काठमाडौं । संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ । संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको छ ।

    गैरसंवैधानिक रूपमा नियुक्तिका आधारमा हुने शपथ रोक्न माग राख्दै मंगलबार मात्र सर्वाेच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका थिए । सो रिट बुधबार सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाउने शीतलनिवासको तयारी छ ।

    अख्तियारको आयुक्तमा सिफारिस भएका पूर्वएआइजी जयबहादुर चन्दले बुधबार बिहानका लागि शपथको तयारी भएको पुष्टि गरे । ‘भोलि (बुधबार) बिहान शपथका लागि स्ट्यान्डबाई बस्नू भन्ने खबर आएको छ,’ उनले भने । अध्यक्षलाई राष्ट्रपतिले र अन्यलाई अध्यक्षले शपथ खुवाउने संवैधानिक प्रावधान छ ।

    स्रोतका अनुसार मुख्यसचिव शंकरदास बैरागीले नियुक्तिका लागि मंगलबार राष्ट्रपति कार्यालयलाई पत्राचार गरेका छन् । तर, बैरागीको पत्राचार ऐनसँग मेल खाँदैन । संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ को दफा ७ को उपदफा २ मा भनिएको छ, ‘संघीय संसद् सचिवालयबाट नियुक्ति गर्न बाधा नपर्ने गरी लेखिआएको व्यक्तिलाई परिषद्को निर्णयबमोजिम सचिवले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पेस गर्न राष्ट्रपतिको कार्यालयमा लेखी पठाउनुपर्नेछ ।’ तर, परिषद्का सचिवको जिम्मेवारीमा रहेका मुख्यसचिवले संसद्बाट अनुमोदन नै नभएको अवस्थामा पनि राष्ट्रपतिलाई सिफारिस गरेका छन् ।

    संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ । धारा २९२ को उपधारा (१)मा भनिएको छ, ‘संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ ।’

    संसद्सँगै विघटन भएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण पनि संवैधानिक परिषद्को पत्र संसदीय सुनुवाइ समितिमा प्रस्तुत नभएसम्म नियुक्तिको बाटो नखुल्ने स्पष्ट पार्छन् ।

    संवैधानिक परिषद्ले गरेका नियुक्तिको सिफारिस ५ पुसमा संसद् सचिवालयमा पठाइएको हो, त्यही दिन प्रतिनिधिसभा विघटन भयो । ‘संसदीय सुनुवाइ समितिले निर्णय गर्न नसकेको होइन, नपाएको हो । खासमा सिफारिस सुनुवाइ समितिमा पुग्नै पाएन । समितिमा पत्र पुग्नुपर्ने बाध्यात्मक व्यवस्था छ,’ उनले भने ।

    प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसै दिन बसेको परिषद् बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । तर, ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि मात्रै उनीहरूको सिफारिससम्बन्धी निर्णय सार्वजनिक भएको थियो । नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij