प्रकाशित मिति : आइतवार, माघ २५, २०७७
काठमाडौं, माघ २५ । नेकपा दाहाल-नेपाल निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् ।अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीँ बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् ।
विद्याथीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो ।प्रहरीले रोकेपछि विद्यार्थीहरु सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए ।त्यसक्रममा उनीहरुले ‘अनेरास्ववियू जिन्दावाद, प्रतिगमन मुर्दावाद, असंवैधानिक कु खारेज गर, केपी पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ विदेशी हस्तक्षेप बन्द गर, वि हेट ओली, फाल्नेछौ भोलि’ लगायतका नारा लगाएका थिए ।
यसअघि ओली समर्थकले ‘वी लभ केपी ओली’ को नारा लगाएकामा दाहाल-नेपाल समूहका विद्यार्थीले ‘वी हेट ओली’ को नारा लगाएका हुन् ।
त्यसक्रममा युवा विद्यार्थीको ज्ञापन पत्र बुझ्न प्रधानमन्त्रीका तर्फबाट कोही उपस्थित नभएपछि विद्यार्थी नेता रञ्जित तामाङले मिडियासामु विरोध पत्र पढेर सुनाएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij