प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७
सिन्धुली । प्रधानमन्त्री केपी ओलीले मधेशमा आफूलाई पस्न नदिनेहरुलाई आफैले शिलान्यास गरेको आयोजनाबाट वितरत हुने पानी भने नरोक्न आग्रह गर्नुभएको छ ।
बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गर्दै ओलीले भन्नुभयो, ‘मलाई मधेश पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला ।’
केही मानिसले आफूलाई मधेश विरोधी भने पनि मधेशका खेतमा पानी पसाउने कामको थालनी गरेको भन्दै ओलीले भन्नुभयो, ‘केपी ओली मधेश नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ ।’
‘मलाई तराई–मधेशमा पस्न नदिए हुन्छ । तर, पानी चाहिँ नरोक्नुहोला,’ कार्यक्रममा सँगै रहनुभएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हेर्दै उहाँले भन्नुभयो ।
राष्ट्रिय गौरवको आयोजना मानिएको यस डाइभर्सनबाट प्रदेश २ का एक लाख ८५ हजार बिगाह जमीन सिँचाइ गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।
डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा थप सिँचाइ भएपछि राजनीतिक पार्टीले नगरे पनि जनताले नै स्वागतका लागि गेट बनाउँछन् उहाँले भन्नुभयो ।
आयोजनाबाट ३१ मेगावाट बिजुली निकालिने छ । आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिएको पनि उहाँले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij