प्रकाशित मिति : आइतवार, फाल्गुन २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘किसान सूचिकरण’ कार्यक्रम नेपाली कृषिको आधुनिकीकरणमा एक अर्को महत्वपूर्ण फड्को भएको बताउनु भएको छ ।
नेपाली किसानहरुको व्यवस्थित डिजिटल अभिलेख राख्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबारबाट सुरु गरेको ‘किसान सूचिकरण’ राष्ट्रिय कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यसले राज्यलाई किसानको स्थिति, हैसियत एवं उनीहरुले लाभ लिनसक्ने कृषिको खास क्षेत्रको पहिचान समेत गराउने बताउनुभयो ।
यस्ता तथ्यहरुलाई एकै ठाउँमा ल्याउने र किसानसम्म आधुनिक प्रविधि पु¥याउने काममा अभियानले सहयोग पुग्ने भनाई पनि उहाँको थियो । यसबाट समग्र कृषि कार्य डिजिटाइट हुने र किसानलाई लाभ पुग्ने पनि उहाँले बताउनुभयो ।
सूचिकरणले किसानलाई कृषि कार्यका लागि अन्नबाली, फलफुल, पशुपालन लगायतका अनेक विधागत तालिम दिइने पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘त्यसपछि उनीहरुले जे उत्पादन गर्छन् त्यो ठूलो मात्रामा उत्पादन हुन्छ र त्यसमा आधारित उद्योग खुल्दै जान्छन’, उहाँको भनाइ थियो ।
अन्तर्राष्ट्रिय बजार लक्षित ठूलो परिमाणको उत्पादनका लागि सहकारी मार्फत लगानी र कम व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारको रहेको पनि उहाँले बताउनुभयो । अनुदान भने सकेसम्म जिन्सी र ब्यक्तिलाई भन्दा सामुहिक अनुदान दिइने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले कृषिमा आधुनिकीकरण यान्त्रीकरणका साथै अर्गानिक उत्पादनलाई बढी जोड दिइने बताउनुभयो । कृषि जति अग्यार्निक हुन्छ त्यति नै निरोगी नेपाल ।
कृषिका पुराना दिन गए भन्दै प्रधानमन्त्रीले कृषिमा आकर्षक प्रतिफल र आम्दानी हुने अवस्था सिर्जना गर्ने र कृषि पेशालाई मर्यादित बनाउने खालका नीतिहरु सरकारले लिने समेत बताउनुभयो ।
युरोपियन युनियनको सहयोगमा सञ्चालन हुन लागेको किसान सूचिकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुने जानकारी कार्यक्रममा दिइयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij