प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा योगदान दिएकालाई भन्दा फटाहा प्रवृत्तिका व्यक्तिलाई आफूले मौका दिएकोमा पश्चताप गरेका छन्।
मंगलबार रुकुममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेकाहरुप्रति संकेत गर्दै उनीहरु फटाहा भएको बताए। उनले भने ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ।’
२०७० को संविधानसभाको निर्वाचनमा तत्कालिन वैद्य समूहले सो चुनाव बहिस्कार गरेको थियो। र रामबहादुर थापा बादल सो समूहमा थिए। सो समूहले त्यतिबेला विभिन्न स्थानमा बम विस्फोट गराएको थियो।
मंगलबार प्रचण्डले सोही प्रसंगको स्मरण गर्दै बादललाई स्थायी कमिटी सदस्य बनाएकोमा पश्चताप गरेका हुन्। उनले भनेका छन्, ‘रुकुमेली जनताका अगाडि आत्मआलोचना गर्न चाहन्छु। मैले गल्ति गरेँ।’
उनले ‘जनयुद्ध’मा योगदान दिनेहरुलाई अगाडि बढाउने प्रतिवद्धतासमेत गरे।
प्रचण्डले देशलाई प्रतिगमनतर्फ लग्ने काम भइरहेको भन्दै पुस ५ मा भएको घटनाले देशलाई प्रतिगमनमा लगेको बताए। पुस ५ मा सरकारले प्रतिनिधिसभा विघटन गरेको थियो। प्रचण्डले प्रतिगमनविरुद्ध आफूले विद्रोह गरेकोसमेत बताए। उनले जनता प्रतिगमनका विरुद्ध तयार रहेको आफूले पाएको भन्दै अहिले पनि षडयन्त्र भइरहेको बताए। उनले अहिले पनि षडयन्त्र जारी रहेको भन्दै त्यसविरुद्ध आफ्नो पार्टी विद्रोहमा लाग्ने बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij