प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा चर्किको द्वन्द्व कम हुनेभन्दा पनि दिनहुँ बढिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललगायत सो समूहमा रहेका ४ जनानेताहरुलाई निलम्बन गरेपछि सो समूह झन आक्रामक भएको छ।
देशभर पार्टी पुनःगठन भन्दै समानान्तर समिति बनाएको यो समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीविरुद्ध देशभर विरोध कार्यक्रम गर्ने भएको छ। वैशाख ९ गते सो समूहले पार्टी स्थापना दिवसको सन्दर्भ पारेर काठमाडौंमा केन्द्रीय कमिटिीले तथा सबै जिल्लामा जिल्ला कमिटीले ओलीविरुद्ध विशेष कार्यक्रम गर्ने भएको हो।
वरिष्ठ नेता माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा वैशाख ९ गते ओलीविरुद्ध विशेष कार्यक्रम गर्ने उल्लेख गरिएको छ। सर्कुलरमा वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न षडयन्त्रका तानाबाना बुनेको भन्दै पार्टीलाई पुनःगठन र संगठित गर्ने अभिभारा आफूमाथि आइपरेको बताएका छन्। उनले सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पार्टी २०७५ जेठ २ गतेकै स्थितिबाट अगाडि बढ्नुपर्नेमा अध्यक्ष ओलीले आफूखुसी ववैधानिक निर्णय गरेको उल्लेख गरेका छन्। उनले कार्यकर्ताहरुलाई निराश नहुन भन्दै जित आफ्नै हुने बताएक छन्।
उता अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सोमबार नै राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाललाई आत्मआलोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन्। तर गुटबन्दी गरे कारबाही गरिने चेतावनी पनि दिएका छन्।
तत्कालिन नेकपा कायम रहँदा प्रचण्ड र वरिष्ठ नेता नेपाल मिलेर प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने तयारी गरेका थिए। पुस ५ मा प्रतिनिधिसभा विघटनपछि त प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएकोसमेत थिए। तर फागुन २३ मा सर्वोच्चले एमाले र माओवादीलाई ब्युँताइदिएपछि नेता नेपालले प्रचण्डसँगको सम्बन्ध तोडेर एमालेमै क्रियाशील हुने निर्णय लिएका थिए। तर, फागुन २८ मा अध्यक्ष ओलीले बालुवाटारमा गरेको विशेष बैठक गरेर माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए। सो बैठकपछि एमाले पनि विभाजनको दिशामा अगाडि बढेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij