प्रकाशित मिति : सोमवार, बैशाख १३, २०७८
काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ठूलो अंकले घटेको छ। सोमबार बजार ६५ दशमलव ५८ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २५ सय ६ दशमलव ६२ अंकमा झरेको छ। यस दिन नेप्से २ दशमलव ५५ प्रतिशतले घटेको हाे। यसअघि आइतबार पनि सेयर बजार ७५ दशमलव ७९ अंकले घटेको थियो।
सोमबार कारोबारो खुलेको १२ मिनेटमै बजार घटेर २५ सय २० मा झरेको परिसूचक त्यसपछि सम्हालिन खोजे पनि पुनः घट्न पुग्यो ।
केही समयदेखि निरन्तर बढेर ऐतिहासिक बिन्दु कायम गरेको सेयर बजार आइतबार र सोमबार दुई दिन मात्रै करिब १ सय ४० अंकले घटेको छ। यसरी सेयर बजार घट्न .थालेपछि लगानीकर्ताहरुमा ठूलो चिन्ता देखिन थालेको छ।
तर, सेयर बजारका जानकारहरुले भने यो आत्तिहाल्नु पर्ने अवस्था नभएको बताएका छन्। उनीहरुले लगानीकर्ताको मनोबल कमजोर भएकै कारण बजार घट्न पुगेको बताएका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लकडाउनको हल्लाले सेयर बजारमा नकारात्मक असर पारेको उनीहरुको बुझाइ छ।
यस्तो अवस्थामा आफ्नो अवस्था हेरेर बाध्यतात्मक अवस्थामा बाहेक सेयर बिक्री गर्न नहुने उनीहरुको तर्क छ। गत वर्ष पनि कोरोना संक्रमणकै बीचमा सेयर बजारले अल टाइम हाई रेकर्ड बनाएकोले सेयर बजारमा चाँडै उत्साह फर्किने उनीहरु बताउँछन्।
सोमबार सेयर बजारमा ६ अर्ब ५९ करोडभन्दा बढीको कारोबार भएको छ। यस दिन अपर तामाकोशी र नेपाल इन्फ्रास्टक्चर बैंकको सर्वाधिक कारोबार भएको छ।
समग्र बजार राताम्मे भए पनि सोमबार बिशाल बजार कम्पनीका लगानीकर्ताले करिव १० प्रतिशतका दरले कमाएका छन्। यस्तै रिलायन्स फाइनान्सका लगानीकर्ताले एकै दिन ८ प्रतिशत बढीले गुमाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij