प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु एक अर्ब बजेट व्यवस्था गर्ने भएको छ। प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले बिहीबार पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाका लागि रु एक अर्ब बजेट छुट्याउने तथा विकास बजेटबाट रकमान्तर गरी तत्काल रु ५० करोड कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिइन्।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री केसीले कोरोना नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई तत्काल रु २२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई सरकारले रु १२ करोड बजेट निकासा पठाएको बताइन्। उनका अनुसार प्रदेश भित्रिने चार नाकामा स्वास्थ्य जनशक्ति थप गरी एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाइएको छ।
यो प्रदेशसमा हालसम्म एक लाख २२२ जनाको पिसीआर परीक्षण भएकामा आठ हजार ३०२ मा सङ्क्रमण देखिएको र त्यसमा ७६० सक्रिय सङ्क्रमित भएको र हालसम्म कोरोना भाइरसबाट ३९ जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै सरकारले प्रदेशभरिका सम्पूर्ण सरकारी, सामुदायिक, गैरसरकारी, निजी अस्पतालमार्फत कोभिड सङ्क्रमित बिरामीको उपचार व्यवस्था मिलाएको बताएको छ।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij