प्रकाशित मिति : सोमवार, अशोज ४, २०७८
काठमाडौं । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ।
माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।
यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।
दुवै पक्षले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन्। २०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो।
दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो।
आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त भएका थिए। पोखरेल माधव नेपालनिकट मानिन्छन्।
केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गरेका छन्। यता नेपालनिकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा माधव नेपालनिकट मोहन घिमिरललाई सिफारिश गरेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij