प्रकाशित मिति : बिहिबार, अशोज ७, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो।
दसैंअघि नै केन्द्रीय र प्रदेशबाहेक सबै अधिवेशन सक्नेगरी कार्यतालिका सार्वजनिक भए पनि बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थानीय (पालिका) तहबाहेक तल्लो तहका अधिवेशन दसैंपछि गर्ने समझदारी गरेको छ।
असार ९ गतेका लागि तोकिएको पालिका अधिवेशनचाहिँ नरोक्ने समझदारी बनेको छ। बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउने र दसैँअघि सबै जिल्लाले वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी नेता रामचन्द्र पौडेलले दिए। ‘अब दसैंअघि पालिका अधिवेशनमात्रै हुन्छ,’ उनले भने, ‘बाँकी त्यसपछि हुन्छ।’ पालिका तहको अधिवेशन असोज ९ गतेबाट सुरु हुने भए पनि आफ्नो अनुकूल जिल्लाहरुले मिति तलमाथि गर्नसक्ने भएका छन् ।
नेता पौडेलसहित संस्थापन इतर समूहले सबै जिल्लाको वडा अधिवेशन सकिएपछि मात्र पालिकाको अधिवेशन गर्नुपर्ने अडान राखे पनि संस्थापन पक्षले अस्वीकार गरेको स्रोतको दाबी छ। तर उनीहरुकै मागअनुसार प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन कार्यतालिका चाहिँ संशोधन गर्ने सहमति भएको हो।
ती अधिवेशन कहिले गर्ने भन्ने मिति भने तोकिएको छैन। पछिल्लो कार्यतालिकामा असोज ५ गते बाँकी वडा अधिवेशन, ९ गते पालिका, १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो। असोज ९ गतेका लागि तय भएको पालिका अधिवेशन तोकिएकै मितिमा गर्ने सहमति भएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कार्यतालिका परिमार्जनबारे प्रस्ताव आएका छन् निर्णय भइसकेको छैन।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij