प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७८
काठमाडौं । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताउनुभएको छ ।
मंगलबार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताउनुभयो ।
विष्टले एमालेभित्र कुनै पनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पार्नुभयो । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट घेराबन्दी, पड्यन्त्र, निशाना बनाइएको विषयलाई गम्भीर रुपमा लिएर सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमा भित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौं ।’
एमालेभित्र विवाद नभएको स्पष्ट पार्दै उहाँले एमालेले स्वस्थ, मर्यादित र सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘आम कार्यकर्ताहरूमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरूमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरूलाई पूरा गर्ने, सशक्त, एकतावद्ध पार्टी निर्माण गर्नेगरी नै हामी भुमिका खेल्छौं,’ उहाँले भन्नुभयो, ‘यो महाधिवेशनमा कुनै पनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन ।’
एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गर्नुभयो । एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उहाँले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij