प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्। उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए।
विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन्।
त्यसका लागि सबै तयारी करिबकरिब पूरा भएको उनले बताए। ‘मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्न प्रधानमन्त्रीको सचिवालयले निर्देशन दिएको छ’,श्रेष्ठले भने, ‘निर्देशनअनुसार मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्नेछौं।’
प्रधानमन्त्री ज्योतिषको सल्लाहअनुसार शुभ दिन छानेर नयाँ भवनमा बसाइँ सर्नेछन्। उनलाई नयाँ भवनमा सर्न मंसिर महिना उपयुक्त भएको सल्लाह ज्योतिषले दिएको स्रोतले बतायो। तीन तलाको उक्त भवनमा सबै किसिमका सुविधा छन्।
नागरिक
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij