प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग आफ्नो गोत्र मिल्ने बताएका छन्।
मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका दाहालले राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने अजेन्डासहित अघि बढिरहेको राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्।
यसअघि दाहालले पतञ्जली योगपीठको भवन उद्घाटन कार्यक्रमलाई मण्डीखाटारमा सम्बोधन गर्दै योगगुरु रामदेवलाई वैज्ञानिक र क्रान्तिकारी भनेका थिए। ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला,अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदोरहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ,’ रामदेवको प्रशंसा गर्दै दाहालले भनेका थिए।
सशस्त्र संघर्षताका माओवादीको निसानामा धार्मिक स्थल, धर्मगुरुहरूसमेत परेका थिए। दाहालको उक्त अभिव्यक्तिपछि कतिपयले युद्धकालमा माओवादीले पण्डित नारायण पोख्रेलको हत्या किन गरेको भन्दै प्रश्नसमेत गरेका थिए।
गत असोज १४ गते माओवादी केन्द्र निकट विद्यार्थी संगठनको २२ औं सम्मेलनमा भावुक हुँदै दाहालले आफूसँग फेरि लडाइँ लड्ने वा आत्मसमर्पण गर्ने विकल्प भए पनि लडाइँ गर्ने अवस्था नभएको र आत्मसमर्पण पनि गर्न नसक्ने भन्दै तर सुसाइड ९आत्महत्या० गर्ने अर्को विकल्प भने रहेको बताएका थिए। तर आफू त्यसबाट अघि बढेको उनको भनाइ थियो। आफ्नो तर्कलाई बल पुर्याउन उनले आत्महत्या सबै नराम्रो मात्रै नहुने भन्दै माक्र्सका छोरी ज्वाइँले पनि आत्महत्या गरेको बताएका थिए।
गत भदौ २३ गते सुरेश वाग्ले स्मृति दिवसमा बोल्ने क्रममा दाहालले माओवादीहरू बिग्रिसकेको बताएका थिए। ‘हामी बिग्रेका छौं। हामी अहिले व्यक्तिगत पद, प्रतिष्ठा, पैसा, स्वार्थ, समूह, गुट, बनाउने र आफूलाई व्यक्तिगत रुपमा सुरक्षित राख्ने जस्ता कुराबाट अलि बढी ग्रस्त छौं,’ उनले भनेका थिए।
नागरिक
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij