प्रकाशित मिति : शुक्रबार, साउन २०, २०७९
सरकारले आम निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धन चुनावी तालमेलको तयारीमा जुटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा गरेको हो । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको छ । पाँच दलहरुले ०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउने नेताहरु बताउँछन् ।
कार्यदल बनाउने तयारी
सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि कार्यदल बनाउने गठबन्धनभित्र तयारी छ । गठबन्धन सम्बद्ध दलको प्रतिनिधित्व हुने गरी कार्यदल बन्ने छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँट गरिने छ । गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने पौडेलको भनाइ छ । त्यसको गृहकार्य समेत कार्यदललाई दिने गठबन्धनमा सहमति भइसकेका उनले रातोपाटीलाई बताए । ‘सत्ता साझेदार दलबीच चुनावी तालमेलबारे छलफल सुरु भएको छ,’ पौडेलले भने, ‘स्थानीय तहमा भएको कमजोरी अब दोहोर्याउनु हुँदैन भन्नेमा हामी सबै प्रस्ट छौं । एउटा मापदण्ड बनाएर जाने विषयमा सबै सहमत छौँ।’
उनका अनुसार कार्यदलले मापदण्ड तय गरेपछि सिट बाँडफाँटको काम सुरु हुन्छ । बुधबारको बैठकमा मोडललगायतका विषयमा प्रारम्भिक छलफल मात्र भएको पौडेलको भनाइ छ । छलफललाई निरन्तरता दिने र तालमेलको मोडलको टुंगो लाग्ने जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल रातोपाटीलाई बताइन् । बुधबारको बैठकसँगै गठबन्धन दलमा आगामी निर्वाचनका कसरी जाने भन्ने विषयमा छलफलले स्थान पाउनेको उनको पनि भनाइ छ ।
‘गठबन्धनबीच निर्वाचनमा कसरी जाने भन्नेमा छलफल अगाडि बढेको छ । निर्वाचनको मिति बाहेक हिजो खासै छलफल भएन । त्यसैले सिट बाँडफाँटबारे टुंगोमा पुगिसकेको छैन । यसको मोडालिटीका सन्दर्भमा शुक्रबार छलफल हुन्छ,’ उनले भने। बुधबार स्थानीय निर्वाचनबाट गठबन्धनमा उत्पन्न अविश्वासलाई कसरी हटाएर जाने विषय केन्द्रित छलफल भएको थियो ।
‘स्थानीय तहका निर्वाचनमा गठबन्धनभित्र अविश्वासको वातावरण पैदा भयो भन्ने कुरा आयो,’ उनले भनिन्, ‘यसमा एकअर्काबीच देखिएको अविश्वासलाई हटाएर कसरी अघि बढ्ने भन्ने विषयमा हिजो छलफल भएको छ । सबै नेताले आ–आफ्नो विचार राख्नु भएको छ ।’
यो पनि
चुनाव सफल पार्न १ सय ७ दिन अर्जुनदृष्टि लगाएर काम गर्छौं : निर्वाचन आयोग
शुक्रबारपछि सत्ता गठबन्धन कार्यदलमा को–को रहने र सिट बाँडफाँटको मोडालिटी के हुने भन्नेबारे छलफल हुने उपाध्यक्ष पौडेलले बताइन् । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
प्रदेश र प्रतिनिधि सभा चुनावको मिति घोषणापछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । बैठकमा भागबण्डाका विषयमा शीर्ष नेताहरु आफ्नो धारणा राख्ने बुझिएको छ ।
सोही बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुख लगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने गठबन्धनको तयारी छ ।
चुनावी तालमेलबारे रणनीति
असार २७ गते सुरु भइ साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेस आम चुनावमा पनि पाँच दलीय गठबन्धनसँग चुनाव तालमेलको पक्षमा उभिएको छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा काँग्रेस पाँच दलीय गठबन्धनमा सहभागी भएको थियो । कतिपय स्थानीय तहमा गठबन्धनसहित निर्वाचनमा भाग लिएको काँग्रेसले तालमेलबाट प्राप्त परिणामप्रति सन्तोषजनक जनाएको छ ।
संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न पाँच दलीय चुनावी तालमेल गरेर अघि बढ्ने काँग्रेसको संस्थागत निर्णय छ । यस्तै काँग्रेसले आगामी निर्वाचनमा तालमेलमार्फत बहुमत ल्याउनेसम्मको लक्ष्य राखेको छ ।
पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा प्रस्तुत हुनुपर्ने काँग्रेसको ठहर छ ।
तालमेल गर्दा मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने काँग्रेसले जनाएको छ ।
यता माओवादी केन्द्रले आम निर्वाचनपछि दोस्रो पार्टी हुने गरी गठबन्धन गरेर जाने नीति लिएको छ । माओवादी दोस्रो दल बनाउने गरी काँग्रेसका नेताहरूसँग समझदारी समेत बनाएको सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij