आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साढे पाँच महिनापछि राणाविरुद्धको महाभियोग प्रस्तावमा छलफल हुँदै, कस्तो हुनेछ प्रक्रिया ?

  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७९



  • काठमाडौं । दर्ता भएको साढे पाँच महिनापछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।

    संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको लागि प्रकाशन गरेको सम्भावित कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।

    कार्यसूचीमा २०७८ फागुन १९ गते प्रतिनिधिसभामा सांसद देव गुरुङले प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुनेछ ।

    अन्तिम कार्यसूची बनेपछि बैठकमा महाभियोगको प्रस्तावकले राणाविरुद्धको महाभियोगको प्रस्ताव टेबल गर्न समय पाउनेछन् । त्यसपछि सभामुखले उक्त प्रस्तावमा छलफल हुने समय तोक्नेछन् ।

    छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनेछन् । सिफारिस समितिले कारवाही अघि बढाएपछि प्रधानन्यायाधीशलाई सात दिनभित्र लागेको आरोपको सफाइ पेश गर्न मौका दिइनेछ ।

    सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्याद भित्र आफैँ उपस्थित भई सफाइ पेश नगरेमा महाभियोग सिफारिस समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन संसद समक्ष पेश गर्नेछ ।

    समितिले कारवाही प्रारम्भ गरेको मितिले बढीमा तीन महिनामा प्रतिनिधिसभामा सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । सभामुखले तोकेको मितिमा समितिका सभापति वा कुनै पनि सदस्यले प्रतिवेदनलाई प्रतिनिधिसभामा पेश गर्नेछन् । त्यसपछि बैठकमा छलफल प्रारम्भ हुनेछ ।

    प्रतिवेदनमाथि छलफल भइरहँदा कुनै सदस्यले संशोधन पेश गर्न वा पुनः छानबिन गर्न फेरि समितिमा फिर्ता पठाउने प्रस्ताव पेश गर्न सक्नेछन् । उक्त प्रस्ताव स्वीकृत भएमा प्रतिवेदन समितिमा फर्किनेछ र समितिले सात दिनभित्र पुनः छानबिन गरी बैठकमा पेश गर्नेछ ।

    पेश भएको प्रस्ताव वा संशोधनमाथि संक्षिप्त छलफलपछि सभामुखले सबै संशोधन निर्णयार्थ पेश गर्ने व्यवस्था छ । त्यसपछि प्रतिवेदनमा उल्लेखित सिफारिस बैठकमा पेश गरिनेछ । महाभियोग प्रस्तावमाथि सभाको निर्णय प्रतिनिधिसभा सदस्यको दस्तखतसहितको मत विभाजनबाट हुने व्यवस्था छ ।

    महाभियोग सिफारिस समितिले पेश गरेको प्रतिवेदन प्रतिनिधिसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले पारित भए मात्र प्रधानन्यायाधीश पदमुक्त हुनेछन् ।

    गत फागुन १ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणाविरुद्ध महाअभियोग दर्ता भएको थियो । उक्त महाअभियोग प्रस्ताव फागुन १९ गते संसदमा दर्ता भएको थियो ।

    महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायाधीश राणा निलम्बनमा हुनुहुन्छ । फागुन २२ गते प्रतिनिधिसभाले प्रधानन्यायाधीश राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो । समिति गठन गरे पनि छलफल अगाडि बढ्न सकेको थिएन ।

    महाभियोग लगाएर प्रधानन्यायाधीश जबरालाई निलम्वनमा राखेको तर प्रक्रिया अघि नबढाएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संसददेखि सार्वजनिक सभामा विरोध गर्दै आएको थियो ।

    नेपाल बार एसोसिएसनले पनि न्यायालयको प्रमुखमाथि महाभियोग लगाएर निलम्बनमा राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।

    संविधान र कानूनको गम्भीर उल्लंघन, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij