प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७९
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताउनु भएको छ ।
तीजको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला दिदिबैनीहरुलाई शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको राष्ट्रपति सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले तीज जस्ता पर्वहरू भड्किलो र खर्चिलोपन बढ्दै गएकोमा भने चिन्ता ब्यक्त गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तीजको शुभकामना दिंदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सु–स्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij