प्रकाशित मिति : शुक्रबार, भदौ २४, २०७९
अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरूले नबुझेको बताएका छन्।
शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गरे।
उनले विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंक ब्युरोक्रेसीलाई बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रिपरिषदबाट हेजिङसम्बन्धी नियमावली पास भएको जानकारी दिए।
मन्त्री शर्माले नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भए पनि हाइड्रो व्यवसायीहरूले नै चाहिँदैन भनेको बताए।
उनले विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानीसम्बन्धी नीति निकै कसिला भएको बताए।
मन्त्री शर्माले राष्ट्र बैंक, अर्थ मन्त्रालय, वन मन्त्रालयको नीति कसिलो भएको बताए।
उनले वैदेशिक लगानीसम्बन्धी कसिलो नीतिले देश विकास हुन नसक्ने भन्दै नीति र सोचमा परिवर्तन गर्नुपर्ने बताए।
त्यस्तै, मन्त्री शर्माले पहाड खनेर ढुंगा बिक्री गरौं भन्ने प्रस्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने गरेको बताए।
उनले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनै पनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी गरे।
मन्त्री शर्माले भने,‘वैदेशिक लगानी ल्याउनको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ। हाम्रो नीति, कानून र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ। सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ। ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुंगा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, हाम्रो जडिबुटी बिक्री गर्न नमिल्ने? हाम्रो रिसोर्स प्रयोग गर्न नहुने अनि विकास गर्ने केबाट ? गर्ने कसरी ? गम्भीर प्रश्न छ।’
मन्त्री शर्माले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडिसिएल) मर्जमा जान नमानेको भन्दै आक्रोश व्यक्त गरे।
उनले संस्थागत वा व्यक्तिगत स्वार्थको लागि मर्जमा जान नमान्नु राम्रो नभएको बताए।
मन्त्री शर्माले पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्ति नेपालमा हाबी भएको बताए।
उनले नेपालमा बचत गर्ने संस्कार नहुँदा समेत ठूला पूर्वाधारमा लगानी गर्न स्रोतको अभाव भइरहेको बताए।
मन्त्री शर्माले नेपालमा वैदेशिक लगानीको लागि कानुन नहुँदा अपेक्षाअनुसार विदेशी लगानी आउन नसकेको बताए।
उनले पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको बताए।
उनले पूर्वाधार विकासमा सरकारका मन्त्री, सरकारी कर्मचारी, लगानीकर्ता र जनताको सोचमा नै समस्या रहेको भन्दै पूर्वाधार विकास गर्ने सोचलाई बदल्नुपर्ने बताए।
मन्त्री शर्माले नेपालमा कस्तो पूर्वाधार बनाउने भन्ने नीति नभएको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij