शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एउटै फार्मबाट १ वर्षमा ३ करोड रुपैयाँबराबरको केरा बिक्री

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०८०



  • झापा। विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ ।

    एउटै फार्मबाट १ वर्षमा ३ करोड रुपैयाँबराबरको केरा बिक्री

    भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गरेका हुन् । दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन् ।

    भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिए । उनका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा पाकेको थियो । ती सबै काठमाडौं, वीरगञ्ज, चितवन र पोखराको बजारमा बिक्री भइसकेको छ । बजारमा प्रतिघरी केरा औसत रु एक हजार दुई सयमा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैँले बजारमा पुर्‍याएर बिक्री गरेको हो ।

    भद्रपुरको फार्मबाट मात्र ३ करोड ३६ लाखको पाकेको केरा बिक्री भएको अध्यक्ष उप्रेतीको भनाइ छ । ‘उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो,’ खेतीबाट उत्साहित अध्यक्ष उप्रेती भन्छन्, ‘अर्को यामदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ । पहिलो यामको केरा बजारीकरण गर्न समस्या भयो । आउँदो याममा बढीभन्दा बढी फाइदा लिने कम्पनीको योजना छ ।’

    भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा छ । उक्त जग्गा वार्षिक पाँच लाख रुपैयाँ भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिको निजी जग्गा एकमुष्टरूपमा वार्षिक १० लाख रुपैयाँ भाडा तिर्ने सर्तमा कम्पनीले लिएको हो । अध्यक्ष उप्रेतीका अनुसार भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराका बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएका हुन् । प्रतिबिरुवा ३५ रुपैयाँमा खरिद गरिएको उनले बताए ।

    वीरगञ्ज, खुदुनाबारी र गौरीगञ्जमा टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उमार्ने नर्सरी रहेका छन् । कम्पनीले तिनै नर्सरीबाट बिरुवा किनेको हो । एकपटक हुर्काएको बिरुवाले पाँच वर्षसम्म नयाँ बिरुवा उमारेर निरन्तर उत्पादन दिइरहन्छ । गौरादहको फार्ममा हाल केरा पाक्न थालेका छन् । उन्नत जातको यो केरा नौ महिनामा पसाउन थाल्छ भने एक वर्षभित्रै पाक्छ ।

    ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको अर्का सञ्चालक कमल थापाको भनाइ छ । केराखेतीमा लागेका युवामध्ये जैसवाल बिर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी हुन् । उनलाई बजारीकरणको राम्रो ज्ञान छ । पहिलो खेती भएकाले कतिपय कठिनाइ भने झेल्नु परिरहेको थापाले बताए ।

    ठूलो लगानीमा केराखेती गरे पनि श्रीगणपति एग्रिकल्चर प्रालिले हालसम्म सरकारी अनुदान र प्रोत्साहन पाउन सकेको छैन । ‘कुलिङ च्याम्बर नहुँदा पहिलो याममा पाकेको केरा बजारमा बिक्री भइनसक्दै बिग्रिएर नष्ट हुने समस्या झेल्नुपर्यो,’ थापाले खेतीको अनुभव सुनाउँदै भने, ‘पाकिसकेका केराका घरीलाई टिकाउन कुलिङ च्याम्बर चाहिएको छ ।’

    झापाको उत्पादनलाई काठमाडौंको बजारसम्म पुर्‍याउन तीन दिनसम्म लाग्ने र ढुवानीमा प्रतिगाडी ५० हजार रुपैयाँसम्म भाडा लाग्ने भएकाले ढुवानीको गाडी पनि आवश्यक परेको अर्का सञ्चालक प्रकाश निरौला बताउँछन् । सरकारले लागत सहभागितामा कुलिङ च्याम्बर र ढुवानीको गाडी खरिदमा अनुदान दिए व्यवसायमा मद्दत पुग्ने उनको भनाइ छ ।

    भारतीय बजारबाट सस्तो दाममा भित्रिने केराले स्वदेशी उत्पादनलाई बजारमा ठूलो चुनौती खडा गरेको कृषकहरूको अनुभव छ । भारतीय केराको आयात रोकिदिने हो भने स्थानीय उत्पादनले बजार पाउने उनीहरू बताउँछन् । स्वदेशमै रोजगारी सिर्जना गर्ने र कृषिमा प्रोत्साहन गर्ने सरकारको कार्यक्रम भए पनि वास्तविक किसानले मल, बीउ, सिँचाइ, उपकरण र बजारीकरणमा अनुदान पाउन नसक्नु दुःखलाग्दो विडम्बना भएको सञ्चालक निरौला बताउँछन् ।

    चालीस वर्षदेखि विर्तामोडमा व्यापार गर्दै आउनुभएका दारोगा जैसवाल भारतबाट कृषि प्राविधिक ल्याएर केराखेतीमा लगाउनुपरेको बताउँछन् । सरकारले सिँचाइका लागि पाइप र रासायनिक मलखाद बेलैमा चाहिए जति अनुदानमा पाउने हो भने नेपाली युवाले रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनको भनाइ छ ।

    भद्रपुर गौशालाका एक सयभन्दा बढी गाईवस्तु पालिएको हुँदा त्यहीको गोबर खरिद गरेर मलखादको समस्या केही हदमा टरेको भए पनि रासायनिक मलको सधैँ अभाव रहने जैसवालले जानकारी दिए । ‘कृषि, कृषि भनेर सरकारले चर्को स्वरमा भनेको भन्यै गरेको सुनिन्छ, यहाँ हामीले केही पाएकै छैन,’ उनी भन्छन्, ‘हामीलाई कृषि उपकरण, ट्रयाक्टर, ढुवानी गर्न गाडी, सिँचाइका लागि पाइपलगायत सामग्री चाहिएको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij