शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नियात्राः थबाङ यात्रा एक अनुभव

  • प्रकाशित मिति : शनिबार, भदौ १५, २०८१



  • रामबहादुर गरंजा (एसकुमार)

    कुरा २०८१ साल जेठ १० गते बिहीबारको हो । हामी रोल्पाको थवाङ भ्रमणमा जाँदै थियौँ । त्यो अवसर हामीलाई लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जुराइदिएको थियो । मन्त्रालयको आयोजना र जिल्ला समन्वय समिति, रोल्पाको समन्वयमा ११ गते शुक्रबार रोल्पाको लिवाङमा हुने राजपत्र सम्पादन तथा प्रकाशनसम्बन्धी स्थानीय तहका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमको लागि हामी जाँदै थियौं । यात्रामा मन्त्रालयका सचिव लालबाबु कवारी, प्रदेशसभाका उपसचिव ईश्वरीप्रसाद आचार्य, मन्त्रालयका कानुन अधिकृत अस्मिता अर्याल, प्रहरी हवल्दार बुद्धि बुढाथोकी, चालक दलका सदस्यहरु गोविन्द सापकोटा, श्री खनाल, मनिषा खत्री र म (स्वयं) गरी ८ जना थियौं । करिव २ बजेतिर भालुवाङबाट हामी बसन्त ऋतुको खडेरी बिदाइसँगै गृष्म ऋतुको स्वागतमा तम्तयार पालुवासँगै नजर जुधाउँदै राप्ती नदीको तिरैतिर लाग्यौं रोल्पा ।

    ईश्वरी सर र अस्मिता मेमको कुराकानीले यात्रालाई थप रमाइलो बनाएको थियो । यात्रा पार गर्दै गर्दा बाटोमा थाकल बेच्दै गरेका नानी÷बाबुहरु देख्यौं । उनीहरुलाई कापी किताब किन्न सहयोग हुने र हामीले अग्र्यानिक स्वाद पनि लिन पाउने भएपछि २÷३ किलो किन्यौं र मजाले खायौँ । पहिलो पटक खाएकोले मलाई फरक अनुभूति भएको थियो । चकचकेमा नास्ता खाएपछि खुङ्ग्री, सुलिचौर, मिझुल हुँदै अगाडि बढ्यांै । सातदोबाटोमा रहेको रक गार्डेन र शहिद स्मृति भ्यू टावर अवलोकन गरी ५ बजे सदरमुकाम लिवाङ पुग्यौं ।

    रोल्पा आफैमा एक युद्ध पर्यटकीय स्थल हो । यहाँका हरेक नागरिकसँग युद्धका तीतामीठा भोगाइ छन् । युद्धमा यही जिल्लाका ९ सय ६९ जना मारिए, ३३ जना बेपत्ता भए, धेरै संख्यामा अङ्गभङ्ग र घाइते भए र ३ सय भन्दा बढी महिला, एकल भएको कुरा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्यले कार्यक्रमका बेला बताउनुभयो । यातना, कुटपिट र धम्कीका बग्रेल्ती अनुभव छन् सबैसँग । युद्धबारे बुझ्न चाहनेका लागि रोल्पा उचित गन्तव्य हो । रोल्पाको सदरमुकाम लिबाङ आइपुग्ने जो कोहीले युद्धमा मारिएका र बेपत्ता पारिएकाको सम्झनामा टँुडिखेलको किनारमा निर्मित शान्ति स्मारक देख्न सक्छन् । २०५२ साल फागुन १ गतेका दिन तत्कालीन नेकपा (माओवादी) ले पहिलो पटक प्रहरी चौकी आक्रमण गरी नेपालमा सशस्त्र विद्रोह अर्थात् जनयुद्ध आरम्भ गरेको कारण रोल्पाको होलेरी निकै चर्चित छ भने थबाङ युद्धको ऐनाका रुपमा परिचित । शायदै सुनिने जिल्ला र निकै कम व्यक्ति पुगेको रोल्पामा युद्ध शुरु भएपछि धेरै अध्येता पुगे । २०५८ असार २८ गते रोल्पाको होलेरीमा दोस्रो पटक आक्रमण गरेर ७५ जना प्रहरीलाई माओवादीले नियन्त्रणमा लिँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा समेत दिनुपर्ने अवस्था आएको कुरा जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारले बताउनुभयो । विगतको युद्धबारे चासो राख्ने विदेशी हुन् वा नेपाली, सबैको मानसपटलमा रोल्पा जिल्ला युद्धभूमिका रुपमा चित्रित हुन्छ । युद्धको औपचारिक अन्त्यसँगै अहिले भने रोल्पा शान्ति यात्रामा छ । त्यसैले पनि विगतको युद्धभूमिको विरासत बोकेकाले यहाँ, अनुसन्धान, घुमफिर र यात्रा गर्न जो कोहीका लागि खुला पुस्तक हो । युद्धकालीन अवस्थामै यहाँ शहिदमार्ग जनताको श्रमबाट निर्माण भएको रहेछ । अहिले होलेरी हुँदै थबाङ शहिदमार्ग जोडिएको छ । जो कोहीका लागि पनि रोल्पा, थवाङ, जलजला र जेलबाङ निकै सुनिएका नाम र ठाउँ हुन्् ।

    लिबाङमा कार्यक्रम सम्पन्न गरी एउटा टिम दाङ फर्कियो भने हामी घर्तीगाउँ पुग्यौ । अर्कोदिन बिहानै घर्तीगाउँबाट रोल्पाको चर्चित ठाउँ थबाङ लाग्यौं । दायाँ र बायाँ ठूला–ठूला अग्ला पहाडको बिचबाट माडीखोला बगेको । खोलाको तिरैतिर डाँडाकाँडाहरुलाई नयनमा कैद गर्दै यात्रा गर्नुको आनन्द थियो नै, जसले मलाई मुस्ताङ मुक्तिनाथ यात्राको सम्झना दिलायो । एक्कासी परिवर्तन गाउँपालिकाको मुकामदेखि ७÷८ किलोमिटर बाटोमा हाम्रो गाडी दुर्घटना हुँदा ठूलो कालले बाँचियो । अनाकन्टार ठाउँमा कुनै पनि सिमले काम गर्दैन, मोबाइलमा नेटवर्क छैन, न त पानी, न त खानेकुरा हामीलाई साह्रै समस्या प¥यो । सबैजना रातोपिरो भएका छौ, भोक र तिर्खाले । बेलुका करिब ४ बजे बल्ल परिवर्तन गाउँपालिकाको नजिकै पुगेर सबैजनाले खाना खायौँ । गुरुजी रोल्पाकै भए पनि स्थानीय परेनन् । पूरै खाम भाषा बोल्ने, हामीलाई केही आउँदैन । सोध्दै र अनुमानको भरमा हामी बेलुका ७ बजेतिर थबाङ पुग्यौ ।

    थवाङ मगर जातिको बाहुल्य रहेको गाउँ हो । यहाँ बहुसंख्यक मगरको बसोवास रहेको छ भने दोस्रो जनसंख्या दलितको छ । खाम भाषी रहेका उनीहरुको थुप्रै मौलिक संस्कार, संस्कृति र परम्परा छन् । यो एउटा कम्युनिष्ट गाउँ, जहाँ अहिले उवा र मिरुल साविक छिमेकी गाविसलाई गाभेर थबाङ गाउँपालिका निर्माण गरिएको रहेछ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा सानो पालिका थबाङ रहेछ । २ हजार मिटरको उचाइमा रहेको थबाङ गाउँ १० वर्षे जनयुद्धको उद्गमस्थल मानिन्छ । मगर संस्कृति, सुन्दर अनि गुजुमुज्ज गाउँ प्रायः एकै शैली र प्रकृतिको घर थबाङको विशेषता हो । ढुंगा, माटो र काठका छानाले बनेका करिब ३÷४ सय घर एकै ठाउँमा लस्करै मिलेका देखिन्छन् । जसले एकीकृत बस्तीको झल्को दिन्छ । थबाङ, गाउँपालिकाको केन्द्र पनि हो । ठुलो गाउँ नै असली थबाङका रुपमा परिचित छ । पर्यटकीय स्थलको प्रचूर सम्भावना र मखमलीको चोलीले सिंगारिए सरी यस गाउँपालिकालाई विभिन्न कालखण्डमा कोरिएको सुनौलो इतिहास तथा यहाँको भौगोलिक अवस्थितिको आधारमा थबाङ गाउँपालिकाको नामाकरण गरिएको थबाङका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताउनुभयो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशकै उच्च पर्यटकीय स्थलको रुपमा रहेको जलजला क्षेत्रलाई शिरमा सजाएर राखेको छ ।

    २०७८ सालको जनगणना अनुसार थबाङ गाउँपालिकाको जनसंख्या १० हजार ८ सय ५१ रहेको छ । थबाङको इतिहास पनि बडो बिचित्रको रहेछ, २०४८ सालसम्म जनमोर्चाको पकड मानिएको थबाङ २०५२ सालपछि माओवादीमय भएको, स्थानीय बासिन्दा बताउँछन् । २०६४ को चुनावमा ३ हजार ६ सय मतसहित प्रचण्डलाई एक छापे रुपमा दिए थबाङ्गीले । २०७० को चुनावमा थबाङमा प्रचण्डलाई शुन्य मत दिएर चर्चामै सुनिन्थ्यो । गुरिल्ला ट्रेकका लागि छुटाउनै नमिल्ने स्थान रहेछ थबाङ । थबाङमा कम्युनिष्टको जग मसालका महामन्त्री मोहनविक्रम सिंहले बसालेका थिए भने नेकपा (माओवादी) का मोहन बैद्य (किरण), प्रचण्ड र राम बहादुर थापा (बादल) ले जनयुद्धको योजना बनाएको कुरा थबाङका पुराना कम्युनिष्ट नेता सन्तोष बुढा मगरले बताउनुभयो । युद्धताका थबाङमा मगरात स्वायत्त प्रदेशको मन्त्रिपरिषद् कार्यालयको बोर्ड समेत झुन्ड्याएको रहेछ तत्कालीन नेकपा (माओवादी) ले । हिजो थबाङमा ३३ घरपरिवार एकै जनकम्युनमा आबद्ध भएका रहेछन्, गाउँ नजिकै जनवादी विद्यालय सञ्चालनमा रहेछ र जिल्लाभर जनसहकारी रहेछन्् । जननमूना अस्पताल, शहिद गेट, तालिम केन्द्र, हेडक्वार्टर बस्ने बंकरका अवशेष पनि यात्राको क्रममा भेटिए । थबाङकै फुन्टिबाङमा तत्कालीन बिद्रोही माओवादीको चर्चित केन्द्रीय बैठक बसेको घर भेटिन्छ । संकटकालमा प्रचण्ड, किरण र बाबुरामको थबाङ अखडा नै रहेछ । उनीहरुले त्यहीबाट युद्ध रणनीति समेत बनाउने कुरा हिँजोका दिनमा तपाई हामीले सुनेको कुरा हो । प्रचण्ड र मोहन बैद्य विभाजनपछि भने थबाङमा माओवादी छिन्नभिन्न अवस्थामा पुगेको स्थानीय बासिन्दा बताउँछन् । अहिले जनकम्युन विघटन भइसकेका छन् र जनवादी विद्यालय सरकारीकरण गरिएको रहेछ । युद्ध पर्यटनका लागि ती संरचना आवश्यक हुन्छन् । विगतका कहानी मात्र सुन्न पर्यटक आउँदैनन्, विगतका युद्ध संरचना हेर्न अझ बढी लालायित हुन्छन् । यिनै विषयवस्तुलाई बुझेर युद्ध पर्यटन प्रबद्र्धनमा सरोकारवाला लाग्नु आवश्यक छ ।

    अहिले बहुसंख्यक आन्तरिक र बाह्य पर्यटक थबाङ पुग्ने गरेको कुराकानीको सन्दर्भमा गाउँपालिकाका अध्यक्ष बुढा मगरले बताउनुभयो । १० वर्षे जनक्रान्तिका बेला भिषण अपरेसनका नाममा सरकारी सेना र प्रहरी थबाङ पुगेका रहेछन् । संकटकालमा राज्य पक्षबाट ३२ र माओवादीबाट ४ गरि ३६ जनाको मृत्यु भएको रहेछ । युद्धकै क्रममा तत्कालीन शाही सेनाले सिङ्गै गाउँ जलाएको रहेछ । पञ्चायतकालमा पनि थबाङमा बारम्बार सेना परिचालन भएको, राज्य उत्पीडन र जनजाति बाहुल्य हुनुले पहिलेदेखि थबाङ्गीमा एन्टी स्टेट अर्थात विद्रोही मनोविज्ञानको विकास भएको कुरा पालिका उपाध्यक्ष शर्मिला बुढा मगरले बताउनुभयो । राज्य विकास र समृद्धि लिएर गएको देखिदैन, जहिल्यै पनि उत्पीडनका रुपमा सरकार पुगेको थबाङ्गी गुनासो गर्छन् । पहिलो पटक आक्रमणमा परेको होलेरी चौकीको भगनावशेष अवलोकन गर्दै, शान्तिकालमा लडाकूको पाँचौं डिभिजन रहेको दहवन, तिला हेर्दै थबाङ पुग्न सकिन्छ । त्यस्तैगरी पूर्वी रोल्पाको सुलिचौरबाट पोबाङ, उवा हुँदै पनि थबाङ पुग्न सकिन्छ ।

    लुम्बिनी प्रदेशमा पर्ने रोल्पाको सबैभन्दा अग्लो भूभाग जलजलाको नाम सुन्दा जति आनन्द लाग्छ, त्यहाँ पुग्दा धेरै गुणा सुन्दर र मनमोहक अनुभव हुन्छ । जीवनमा एक पटक घुम्नै पर्ने ठाउँ हो जलजला । जलजला रोल्पाको धार्मिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । समुद्री सतहबाट ३ हजार २ सय ९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । जेठ पूर्णिमाका दिन ठूलो मेला लाग्दोरहेछ । रोल्पाको मात्र नभई रुकुम, सल्यान, दाङ, प्युठान र सुर्खेत लगायतका जिल्लावासीहरुको आस्थाको केन्द्र मानिन्छ । यो क्षेत्रमा उपोष्णदेखि ठण्डा, समशीतोष्ण क्षेत्रसम्मको हावापानी र सोही अनुसारका वनस्पतिहरु पाइन्छन् । यस क्षेत्रमा करिब १४ प्रजातिका गुराँस फुल्छन् साथै विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । त्यसैले राष्ट्रिय प्रकृति संरक्षण कोषले जलजला क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरेको छ ।

    त्यतिमात्र नभएर तत्कालीन सरकार र माओवादी विद्रोहीबीच १० वर्षे सशस्त्र युद्धमा सम्भवतः सबैभन्दा बढी मानवीय क्षती व्यहोरेको वस्ती शायद रोल्पा जिल्लाको जेलवाङ नै हो । रोल्पाको सुनछहरी गाउँपालिका ७ मा पर्ने जेलवाङ रोल्पाको मात्र नभएर सशस्त्र द्वन्द्वका क्रममा धेरै जनताले बलिदानी गर्ने नेपालकै ऐतिहासिक स्थान रहेछ । तर जनयुद्धको ऐतिहासिक गाउँलाई नेताहरुले भुलेको स्थानीयको गुनासो छ । प्राय मगर खाम बोलीचाली हुने यो गाउँमा २ सय भन्दा बढी अपाङ्ग रहेछन् । युद्धको पीडामा जलेको जेलबाङ सदरमुकाम लिबाङबाट दर्जनौं पहाड काटेपछि २० कोष टाढा एक दिनको यात्रामा पुग्न सकिन्छ । सशस्त्र द्वन्द्वमा सबैभन्दा मानवीय क्षति भएको गाउँ, मगर र दलित समुदायको बस्ति, फलाम खानीको गाउँ, सरकार र विद्रोही पक्षहरु लडेका र हिडेको गुरिल्ला ट्रयाकसँगै जेलबाङका धेरै आफ्नै मौलिक तथा सांस्कृतिक विशेषताहरु रहेका छन् । जलजलासँगै थबाङ, रुकुमको तकसेरा र बाग्लुङको ढोरपाटन पुग्ने आधारशिविरका रुपमा समेत जेलबाङलाई विकास गर्न सकिने सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन (कीर्तिमान) ले बताउनुभयो । परिवर्तनका निम्ति सबैभन्दा धेरै क्षति व्यहोरेको गाउँलाई परिवर्तनका लागि लड्नेहरुले नै भुलेको उहाँ बताउनुहुन्छ । जेलनेल र यातना नभोगेका, गोली नलागेका र मान्छे नमारिएका घरै छैनन् भन्दा पनि हुने रहेछ । माओवादी तर्फबाट १० जना र राज्य पक्षबाट ६३ जना गरी जेलबाङमा ७३ जनाले ज्यान गुमाएका कुरा पुन मगरले बताउनुभयो । ज्यान गुमाउनेमा ४ वर्षीय बालक, बोल्न नसक्ने अपाङ्ग, सुत्केरी महिला, वृद्ध–वृद्धा सहित निर्दोष नागरिक समेत परेछन् । जेलबाङ गाउँको विकाससँगै परिवर्तनका लागि ज्यान गुमाउनेहरुको संझनामा गाउँमा केही देखिने काम गरिदिए हुन्थ्यो भन्ने स्थानीयले माग गर्दै आए पनि सुनुवाइ नभएको बताउँछन् । रुकुम पूर्व जिल्लाको रुकुमकोटमा १३ गतेको कार्यक्रम सकेर त्यहाँका विभिन्न पर्यटकीय स्थानहरुको भ्रमण गरी हामी १५ गते दाङ भालुबाङ सकुशल फर्कियौं । यात्रामा समस्या थिए तर पनि कुनै खल्लोपन महसुस हुन पाएन । यात्राको क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij