प्रकाशित मिति : शनिबार, भदौ २९, २०८१
घोराही । सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङले घोराही–१७ का स्मृति वली र आकृति वलीलाई साहसिक छोरी भनेर कदर गरेको छ ।
महिला मञ्चका अध्यक्ष सुशीला आयार्च वैद्यको अध्यक्षतामा बिहीबार वली निवासमै कार्यक्रम गरी छोरीहरुले बुवा नारायणको किरिया गर्न चालेको कदमको प्रशंसा गरेको हो । घोराही–१७ एकताटोलका नारायण वलीको गत आइतबार ४५ वर्षको अल्पायुमा निधन भएको थियो । मृतक वलीका छोरीहरुले किरिया गरिरहनु भएको छ । ‘छोरीका आमाहरु समाजमा सजिलरी बाँच्न पाउने वातावरण बनाउनुपर्नेछ’– अध्यक्ष आचार्यले भन्नुभयो– ‘छोराले जे भने पनि ठीक हुने छोरीले भनेको केही नहुने अवस्था छ ।’ उहाँका अनुसार कतिपय ठाउँमा ब्राह्मणले अटेरी गरेर छोरीलाई किरिया गर्नबाट रोकेको पाइन्छ । कतै आफन्तले गर्न दिदैनन् । कतै छोरीलाई बस्न दिए पनि स्वर्ग जान पाइन्न कि भनी अविश्वास गरेर देवर, जेठाजु ब्राह्मण वा अरु कसैलाई किरिया बसाल्ने चलन छ ।
किरिया बस्ने छोरो खोज्ने क्रममा भु्रणहत्या हुन्छ । छानी–छानी छोरीको भ्रुणहत्या गरेर एउटी आमाले आठ दशवटा बच्चा खेर फालेका र आमा शारीरिक मानसिकरुपमा अशक्त भएका धेरै उदाहरण छन् । कोही महिला छोरा नपाएकैले घरबाटै निकालिन्छन् । छोरा र छोरीबीचको विभेद हरेक घरबाट हटाउन जरुरी छ । त्यसका लागि छोराले गर्दै आएको काम छोरीले गर्नुपर्छ ।
‘यो कामले दिदी बहिनी मात्रै भएका अन्य छोरीलाई पनि हिम्मत बढ्नेछ’– समाजका सल्लाहकार अधिवक्ता निर्मला सुवेदीले भन्नुभयो– ‘छोरीले दिएको पिण्ड नपाउने, छोराले दिएको पाउने भन्ने सोच पनि हट्ने छ ।’ उहाँका अनुसार धेरै आमा बाहरु छोरा छैनन् भनेर आत्तिने गर्दछन् । दाजुभाइ नभए पनि फरक पर्दैन भन्ने सन्देश दिएको छ । छोरीले पनि किरिया गर्न मिल्छ भन्ने प्रेरणाको स्रोत बनेको छ । मृत्यु लगत्तै घाटमा कपाल कसले फाल्ने, जनै कसले लगाउने भन्ने कुरा चलेको मृतकका मामा ससुरा टानबहादुर बन्जाडेको भनाइ थियो । बन्जाडेका अनुसार छोरीहरुले बुवाको किरिया हामी गर्छौं भनेर आँटे । उनीहरुको साहसिक कदमले छोराछोरी बराबर हुन् भन्ने आवाज उठाउनेलाई पनि सजिलो भयो । किरियामा छोरा नै चाहिन्छ भन्नेहरुको पनि मुख थुनियो । यो कर्मले सबैको शिर ठाडो भएको छ । छोरा र छोरीमा फरक हुँदैन भन्ने सन्देश दिएको छ ।
‘छोरा भने पनि छोरी भने पनि हामी दुइटी नै हो’– मृतककी जेठी छोरी आकृतिले भन्नुभयो– ‘छोरा छोरी भनेर बाबाले कहिल्यै भेदभाव गरे जस्तो लागेन । किरिया अरुलाई गराउनु भन्दा हामी आफै गरौं भन्यौं ।’ उहाँले समाजले पनि आफूहरुको चाहनालाई साथ दिएको बताउनुभयो । उहाँका अनुसार हामी आफै किरिया गर्न चाहन्छांै भनेपछि गर भनेर हौसला दिनेहरु धेरै भए । आमा सविता पनि शिक्षित भएकाले साथ दिनुभयो । अहिलेसम्म कुनै समस्या आएको छैन । यतिबेला १८ वर्षीया स्मृति कक्षा १२ पास गरी उच्च शिक्षा शुरु गरिसक्नुभएको छ र १६ वर्षीया आकृति कक्षा ११ मा अध्यनरत हुनुहुन्छ ।
किरिया गर्ने इच्छाशक्ति देखाएर हिम्मत गरेको भन्दै पत्रकार रञ्जिता शर्माले प्रशंसा गर्नुभएको थियो । ‘विवाह गरेका छोरी अर्काको कुलमा जान्छन् चल्दैन भन्ने पनि गलत हो’– मञ्चका सचिव विमला केसीले भन्नुभयो– ‘सासु ससुराको १३ दिन बार्ने जन्माउने आमा बा मर्दा पाँच दिन बार्ने पनि ठीक होइन । म दुबैलाई बराबर गर्नेछु ।’ उहाँले एक धर्को सिंदुरले जन्माउने बा आमालाई कमजोर बनाउन नसक्ने बताउनुभयो । छोरा र छोरीबीच अन्तर कुनै पनि हिसावले गर्न नहुने भनाइ थियो । समाजले छोरीलाई बाबु आमाप्रतिको कर्तव्य पूरा गर्न नदिएको भन्दै विरोध जनाए । उनीहरुले छोरीलाई साथ दिन तर सन्तानको कर्तव्य पुरा गर्न खोज्दा अनेक बहानामा दुःख नदिन आग्रह गरे । उनीहरुका अनुसार पितृसत्तात्मक सोचमा परिवर्तन ल्याउन सबै आँटिला र साहसिक छोरीहरुलाई कदर गर्नुपर्छ ।
yougabodha bat
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij