प्रकाशित मिति : शनिबार, भदौ ७, २०८२
काठमाडौँ । चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।
मन्त्री नवलकिशोर साह सुडी र सचिव लक्ष्मीकुमारी बस्नेतबीच भएको सम्झौताअुनसार कार्यसम्पादन सम्झौतामा प्रथम त्रैमासिक (२०८२ साउन १ गते देखि असोज ३० गतेसम्म) को अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो त्रैमासिक र बाँकी अवधिमा गरिने कार्यहरू समावेश गरिएको छ ।
कार्यसम्पादन सम्झौतामा मुख्य गरी दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका सतप्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार, सडक बालबालिकाको उद्धार, पुनस्र्थापना, संरक्षण तथा व्यवस्थापन, बालबालिकाको पारिवारिक पुनर्मिलन तथा उद्धार रहेका छन् । साथै सिंहदरबार र ललितपुरमा सञ्चालित दिवा शिशु स्याहार केन्द्रलाई भक्तपुरसहित अन्य दुई प्रदेशस्तरमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।
कानुन निर्माणतर्फ मर्यादित महिनावारी निर्देशिका तयारीका लागि अवधारणा पत्र, लैङ्गिक हिंसा सम्बोधनका लागि एकीकृत कानुन निर्माण, महिलामा लगानी तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण तथा सोसम्बन्धी कार्यक्रमका लागि कार्यविधिलगायत रहेका जनाइएको छ ।
पूर्वाधारतर्फ बाल सुधार गृह, ढकालटार भवन, मङ्गला सहाना पुनःस्थापना केन्द्रको भवन निर्माण, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्थानीय तहको साझेदारी, हिंसा पीडितका लागि सुदूरपश्चिम तथा मधेस प्रदेशमा पुनःस्थापना केन्द्र भवन निर्माण, १५ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन निर्माण, नेपाल प्रहरीका कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका पाँच वटा भवन निर्माण कार्यहरू रहेकामहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा सचिव लक्ष्मीकुमारी बस्नेत र महिला सशक्तीकरण महाशाखा प्रमुख आभा श्रेष्ठ कर्ण, प्रशासन तथा योजना महाशाखा प्रमुख चक्रबहादुर बुढा र सामाजिक समन्वय महाशाखा प्रमुख ज्ञानहरि घिमिरेसँग कार्यसम्पादन सम्झौता भएको हो ।
शाखा प्रमुखहरू समाज कल्याण परिषद् पशुपति वृद्धाश्रम बालअधिकार परिषद् तथा राष्ट्रिय योजना आयोगलगायत उपस्थिति थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij