बिनिता शर्मा,काठमाडौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानल बीच प्रहरी कार्यक्रम प्रसारणका लागी सम्झौता नवीकरण भएको छ ।
भदौ ०३ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख DIGP शेखर खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेती बीच सम्झौता नविकरण भएको हो ।
सम्झौता नवीकरण कार्यक्रमलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख DIGP खनालले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउदै प्रहरीका गतिविधि र नागरिकलाई आवश्यक पर्ने सुरक्षा सचेतना प्रवाह गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित प्रहरी कार्यक्रमलाई नेपाल टेलिभिजन मार्फत निःशुल्करुपमा प्रसारण गरी आम नागरिकमा सचेतना अभिवृद्दि गर्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानललाई हार्दिक आभार व्यक्त गर्नु भयो ।


साथै सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले प्रहरी कार्यक्रमले नागरिकमा सचेना अभिवृद्धि गरी अपराध नियन्त्रण गर्न ठुलो सहयोग पुगेको बताउनु हुदै प्रहरी कार्यक्रमलाई अझ प्रभावकारी बनाई टेलिभिजनबाट प्रसारण गर्न संस्थाको तर्फबाट निरन्तर आवश्यक सहयोग र सहकार्य रहने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा SP सुमन कुमार तिम्सिना, SP नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरीका उत्पादन प्रमुख अमित कुमार बर्मा सहितका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति, सुरक्षा र सु-व्यवस्था कायम राख्ने उद्देश्यका साथ सार्वजनिक सेवा प्रसारण नेपाल (NTV) इटहरी च्यानल लगायत स्थानीय टेलिभिजनहरूसँग सहकार्य गरी प्रहरी कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तर प्रसारण गर्दै आईरहेको छ ।