प्रकाशित मिति : आइतवार, कार्तिक २, २०८३
काठमाडौं। नेपालीको महान् पर्व बडादसैंका अवसरमा घर फर्कने यात्रुहरूको चाप काठमाडौं उपत्यकामा अझै बाक्लो रहेको छ। महाअष्टमीका दिन आइतबार पनि उपत्यकाका प्रमुख बसपार्क तथा नाकाहरूमा गन्तव्यतर्फ लाग्ने सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको छ।
विशेषगरी नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर तथा गौशाला क्षेत्रमा बिहानैदेखि यात्रुको बाक्लो उपस्थिति र चहलपहल रहेको छ। घटस्थापनादेखि हालसम्मको अवधिमा मात्रै करिब ४ लाख ९६ हजार यात्रुले उपत्यका छाडिसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका छन्।
बिहानको समयमा उपत्यकाबाट बाहिरिने सवारी साधनको चाप उच्च रहे पनि दिउँसोदेखि भने सडकमा गाडीको संख्या क्रमशः घट्दै गएको प्रहरीको भनाइ छ। दसैं मनाउन सर्वसाधारण गाउँघर फर्कने क्रम बढेसँगै काठमाडौं उपत्यकाभित्रका मुख्य सडकहरूमा भने सवारी साधनको चाप निकै घटेर सुनसान बन्न थालेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij