प्रकाशित मिति : शनिबार, कार्तिक १, २०८३
बिनिता शर्मा,काठमाडौ । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त डग (K-9) सहित सशस्त्र प्रहरी बल, नेपालको निगरानी विस्तार गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन देशका प्रमुख सीमा नाकाहरूमा विशेष तालिम प्राप्त कुकुरसहितको निगरानी बढाउँदै लैजाने साङ्गठनिक नीति अनुसार कञ्चनपुर जिल्लास्थित गड्डाचौकी भन्सार नाकामा पनि तालिम प्राप्त डगसहितको गस्ती तथा जाँच सुरु गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले असोज ३१ गते कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा परिचालन हुने डग स्क्वाडको उद्घाटन गर्नुभएको हो ।
सशस्त्र प्रहरी बल, नेपालले यसअघि नै ४ वटा प्रमुख सीमा नाकाहरूमा तालिम प्राप्त डगसहितको टोली परिचालन गरी सीमा सुरक्षा र जाँचलाई प्रभावकारी बनाउँदै आएको छ ।
२०८० सालमा झापाको काँकडभिट्टा, २०८१ सालमा पर्साको बीरगंज र रुपन्देहीको बेलहिया नाकामा तालिम प्राप्त डग परिचालन गरिएको थियो भने यस बर्ष बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकी गरी थप दुई नाकामा तालिम प्राप्त डगसहितको टोली परिचालन गरिएको हो ।
मुख्य सीमा नाकाहरूमा तालिम प्राप्त डगसहिको टोली परिचालनबाट अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध तथा सीमापार अपराध नियन्त्रणमा प्रभावकारी र उपलब्धिमूलक नजिता प्राप्त भएकाले संगठनको नीतिअनुसार गड्डाचौकी सीमा नाकामा पनि डग स्क्वाडको थप परिचालन गरिएको हो ।
हाल सशस्त्र प्रहरी बल, नेपालमा तालिम प्राप्त डगको कुल ३० वटा दरबन्दी रहेको छ । सीमा नाकाहरूमा हुनसक्ने गैरकानुनी गतिविधि नियन्त्रण गरी सीमा सुरक्षालाई थप चुस्त र प्रविधिमैत्री बनाउन डगको दरबन्दी पर्याप्त मात्रामा वृद्धि भएमा देशका अन्य सीमानाकाहरूमा समेत क्रमश तालिम प्राप्त डग (K-9) सहितको टोली परिचालन गर्न सहज हुने विश्वास लिइएको छ । बिशेष गरि लागु औषध ओसारपसार र बिष्फोटक पदार्थ भित्र्याउन निशेध गर्न सकिने आशा गरिएको छ। ४ स्थानमा डग परिचालन गर्दा धेरै उपलब्धि भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रबक्ता DIGP नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij