आइतवार, कार्तिक ९, २०८३ | Sunday 25th October 2026

कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा

  • प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३



  • काठमाडौँ । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो) मा तिब्र गतिमा फैलिरहेको इबोला भाइरसको प्रकोप नियन्त्रणका लागि शुक्रवारदेखि वृहत् क्लिनिकल परीक्षण सुरु गरिएको छ । इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको यस दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’ नाम दिइएको छ ।

    इबोला भाइरसको इतिहासमै सबैभन्दा घातक रूप लिएको पछिल्लो महामारीबाट कङ्गोमा हालसम्म चार हजार छ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको पूर्वी कङ्गोको इतुरी प्रान्तको राजधानी बूनियामा पहिलो सहभागीलाई खोप दिएर यो ऐतिहासिक परीक्षणको औपचारिक थालनी गरिएको हो । यो अनुसन्धानलाई ‘कोएलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स’ (सिइपिआई) ले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

    हालसम्म बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसविरुद्ध कुनै पनि आधिकारिक खोप प्रमाणित भइसकेको छैन । यस परीक्षणको मुख्य उद्देश्य खोपको सुरक्षा, यसले शरीरमा विकास गर्ने प्रतिरोधात्मक क्षमता र सङ्क्रमण रोकथाममा पुर्‍याउने प्रभावकारिताको मूल्याङ्कन गर्नु रहेको छ । विशेषगरी सङ्क्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका र उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरी ‘रिङ भ्याक्सिनेसन’ पद्धतिमार्फत यो परीक्षण अघि बढाइएको हो । परीक्षणको प्रारम्भिक चरणमा ‘एर्भेबो’ खोप प्रयोग गरिएको छ । यो खोप पहिले नै जायर इबोला भाइरसविरुद्ध स्वीकृत भए पनि बुन्डिबुग्यो प्रजातिका लागि यसको प्रभावकारिता प्रमाणित हुन बाँकी छ । यसका अतिरिक्त अमेरिकी कम्पनी मोडेर्ना तथा अक्सफोर्ड विश्वविद्यालय र सिरम इन्स्टिच्युट अफ इन्डियाले संयुक्त रूपमा विकास गरेका अन्य दुई खोपहरू पनि छिट्टै यस परीक्षणमा समावेश गरिँदैछ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले यस पहलको स्वागत गर्दै परीक्षणबाट प्राप्त हुने प्रमाणले जारी महामारी नियन्त्रण गर्न र भविष्यमा आउन सक्ने महामारीको पूर्वतयारीमा ठूलो टेवा पुग्ने बताएका छन् । कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २० सम्ममा ९,७०४ जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये ४,६८७ जनाको मृत्यु भएको छ । यहाँ मृत्युदर ४८.३ प्रतिशत पुगेको छ । गत मे १५ मा कङ्गोमा सुरु भएको यस महामारीलाई डब्लुएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको विपत्तिपछि यो विश्वकै दोस्रो ठूलो र कङ्गोको इतिहासकै सबैभन्दा घातक इबोला प्रकोप हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप
    अमेरिकाले आजै इरानमाथि आक्रमण गर्न सक्ने ट्रम्पको संकेत
    कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
    सुनको भाउ एकैदिन एघार हजार सात सय रुपैयाले घट्यो
    इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने ट्रम्पको चेतावनी
    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
    ‘एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो’
    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरालाई पनि चोट

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij