प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
जेपी थुलुङ, सोलुखुम्बु ।सोलुखुम्बुमा रगतको आवश्यकता भएमा ‘रगत चाहियो’ भनेर रेडियोबाट विज्ञापन बजाउनु पर्ने बाध्यता रहेको छ ।
जो कोहीलाई रगतको आवश्यकता भएमा सिधै ब्लड बैङ्कमा गएर रगत ल्याउने गरिन्छ । तर सोलुखुम्बुमा ब्लड बैङ्क नहुदा यस्तै समस्या भोग्दै आएको स्थानीयहरु बताउछन् । छेस्काम २ सोलुखुम्बुका दमाई हजर राईलाई रगत आवश्यकता भएपछि रगत खोज्दा खोज्दा हैरान भएर रेडियोमा रगत आवश्यकता भनेर विज्ञापन बजाउन थालिएको राईका ज्वाई पटन बहादुर राईले बताउनु भयो ।
७२ वर्षिय राई १५ दिन अगाडीदेखि बिरामी भएपछि विकट गाविस छेस्कामबाट सोलु अस्पताल ल्याईएको परिवारले जनाएको छ । शनिबारदेखि सोलु अस्पतालका चिकित्सकहरुले रगतको व्यवस्था गर्न भन्न थालेपछि रगतको खोजी गरेको भएपनि रगत नपाईएको बिरामीका ज्वाई पटन बहादुर राईले बताउनु भयो ।
हिजोदेखि रगत खोजेको कतैपनि नपाएको र चिनेको नचिनेको सबैसाग माग्दा कसैले दिन चाहेन भने धेरैको रगत नमिले पछि विज्ञापनमा दिएको उहाले बताउनुभयो ।
स्थानीय ३ वटा रेडियोमा एकै साथ विज्ञापन दिएकोले रगत पाउने आशा गरेको भएपनि हालसम्म कोहि पनि सम्पर्कमा नआएको राईले बताउनु भयो । रेडियोबाट विज्ञापन बजिरहेकोले आज नभएपनि भोलीसम्म बिरामीसग रगत मिल्ने रक्तदाता पाउने आशा रहेको परिवारले जनाएको छ ।
यता जिल्ला अस्पताल सोलुका अनुसार यो समस्या पहिलो पटक नभई ब्लड बैङ्क नहुदा यस्ता समस्याहरु पटक पटक दोहोरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij