प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३
रुकुम । जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयहरुको छट्के अनुगमन गरेको छ । कर्मचारीहरुले काममा नियमितता नदिएको र ढिला सुस्ती गर्न थालेको भन्दै सर्वसाधारणहरुवाट गुनासो आउन थाले पछि छट्के अनुगमन गरिएको हो ।
जिल्ला विकास समिति, प्राविधिक, मालपोत, वन, कृषि, शिक्षा र हुलाक कार्यालयमा छट्के अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बंशीकुमार आर्चायले जानकारी दिए । अनुगमनका क्रममा लामो समयदेखी कार्यालयमा कर्मचारीहरु उपस्थित नभएको, कार्यालय समयमा कर्मचारी पोषाक र परिचय पत्र नलगाएको भेटिएको उनले जनाए ।
महिना भरी नै कार्यालयमा नआएको र विदा पनि नलेखेको जिल्ला शिक्षा र हुलाक कार्यालयमा भेटिएको छ । यसको विषयमा सम्बन्धित कार्यालयहरुवाट स्पष्टिकरण सोधिने प्रशासन कार्यालयले जनाएको छ । औचित्य र अभिलेखका लागि आवश्यकता अनुसार अनुगमन गरिने कार्यालयले जनाएको छ । प्रशासनले साउन देखी कार्तिक सम्मको हाजिरी, विदा, काज र कैफियत हेरफेर गरेको थियो । गोप्य ढंगले गरिएको छट्के अनुगमनमा प्रशासनका कर्मचारीहरु परिचालन गरिएको थियो ।
कैफियत देखिएका कार्यालय र कर्मचारीहरुलाई जानकारी गराई विभागीय कारवाही हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, ‘कारवाही सम्बन्धित विभागले गर्छ, कारवाही गरेर नगरेको म ताकेता गर्छु ।’ जनताको काममा कसैले ढिला सुस्ती गर्यो वा अफिस समय भित्र कर्मचारी भेटिएन सोको विषयमा आफुलाई जानकारी गराउँन सर्वसाधारणलाई उनले अनुरोध गरेका छन् । यसै बीच जिल्ला प्रशासनले जिल्लाका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिर सञ्चालन गर्ने निर्देशन दिने भएको छ ।
कुन कार्यालयको कुन कर्मचारी कार्यालयमा आए नआएको जानकारी सहज ढंगवाट जानकारी लिन यस्तो गर्नु लागिएको प्रशासनले जनाएको छ । प्रशासनमा विद्युतीय हाजिरि सञ्चालनमा छ । यसको लिंक गृह मन्त्रालय संग जोडिएको हुन्छ । जिल्लामा ३४ सरकारी कार्यालयहरु छन् । यी कार्यालयहरुको नियमिततामा प्रश्न उठेमा र प्रशासनलाई शंका लागेमा जुनसुकै बेला अनुगमन गर्न सकिने आचार्यले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij