प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३
रोल्पा । रोल्पा जिल्ला अस्पतालमा सञ्चार सुविधा नहुँदा बिरामी र स्वास्थ्यकर्मीलाई सास्ती हुने गरेको छ । अन्य सरकारी कार्यालय रहेको स्थानभन्दा करिब पाँच किलोमिटर पश्चिममा रहेको जिल्ला अस्पतालमा हालसम्म ल्यान्डलाइन टेलिफोनको सुविधा नभएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका निमित्त जनस्वास्थ्य अधिकृत तेजेन्द्र साउदले बताउनुभयो ।
“विगतमा भिस्याट र सिडिएमए टोलिफोनवाट काम चलाउने गरिएपनि ती फोनहरू पनि भरपर्दा छैनन् । आवश्यक परेको बेला नेटवर्क नै हँुदैन”, साउदले भन्नुभयो । कहिलेकाहीँ बिरामीको उपचार गर्दा अन्य जिल्लाका डाक्टरसँग पनि परामर्श गर्नुपर्ने भएपनि रोल्पा अस्पतालमा फोन र इन्टरनेटको असुविधाका कारण त्यसो गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ थियो ।
अस्पतालजस्तो महत्वपूर्ण स्थानमा टेलिफोन र इन्टरनेटको चौबिसै घन्टा सुविधा हुनुपर्नेमा सञ्चारका कुनै पनि सुविधा उपलब्ध नहुँदा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई समस्या हुने गरेको जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले बताउनुभयो । कृष्णबहादुर महरा सञ्चारमन्त्री हँुदा स्थानीयवासीको सहयोगमा टेलिफोन उपलब्ध गराईदिन मागपत्र पेस गरेको भएपनि हालसम्म पनि सुनुवाइ नभएको पोख्रेलले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij