प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३
जेपी थुलुङ, सोलुखुम्बु ।अस्पताल भनेको उपचार गर्ने ठाउँ हो । मानिस बिरामी भएपछि उपचारका लागि अस्पतालको बिकल्प छैन । विभिन्न रोगका बिरामी हुने भएकाले संक्रमण फैलन नदिन सरसफाइमा विशेष ध्यान दिने गरिन्छ । कुनै पनि अस्पतालमा सरसफाइ पहिलो सर्त हो । तर, सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको अवस्था भने ठीक उल्टो छ ।
तीन दशक अघिको पुरानो र सबैको बिश्वासको केन्द्र जिल्ला अस्पताल फाप्लु यतिबेला फोहोर संकलन केन्द्रजस्तो देखिन्छ । अस्पतालको भित्र र बाहिर फोहोर नै फोहोर छ । यतिसम्म कि अस्पतालका कुनै पनि शौचालय सद्दे भेटिँदैन । शौचालय देख्दा यस्तो लाग्छ, यिनीहरूको सरसफाइ कहिल्यै हुँदैन । शौचालयबाट निस्किएको दुर्गन्धका कारण कुनै पनि बेला सरुवा रोगको संक्रमण फैलने देखिन्छ । फोहोरका कारण शौचालय छेउछाउको बाटोमा हिँड्दा पनि नाक थुन्नुपर्ने अवस्था छ ।यस्तै अस्पतालको वरीपरी जतातत्तै प्लाष्टिक, कागज, जुक्ता चफल, च्यतिएको बोरा सिसाका बोतलहरु जस्ता फोहोरनै फोहोर भेटिन्छ ।
उपचारका लागि टाढा–टाढाबाट आएका बिरामी स्वास्थ्यलाभ गर्नुको साटो थप बिरामी पर्ने जोखिम बढेको छ । अस्पतालमा बिरामीलाई भेट्न आएका आफन्त र कुरुवासमेत अस्पतालबाट फैलिएको दुर्गन्धले आजित हुने गर्छन् । बुबा बिरामी भएपछि ४ दिनदेखी अस्पतालमा बसिरहनुभएका सोलुखुम्बु टाक्सिन्दुका छप्ते शेर्पा भन्नुहुन्छ, फोहोरको कारणले आफै बिरामी परिएला जस्तो छ । शौचालयमा पानीसमेत आउँदैन । बिरामी र बिरामीका आफन्त यस्तै फोहोर शौचालय प्रयोग गर्न बाध्य छन् । सरसफाई र प्रभावकारी स्वास्थ्यसेवाको बारेमा बिरामी, कुरुवा र सबै सर्बसाधरनको तिब्र गुनासो बढेपछि जनस्वास्थ्य प्रमुख रोषणलाल चौधरीले अबको २ महिना भित्र सुन्दर र सफा अस्पताल बन्ने बताउनुभएको छ । फोहोरका कारण सबैको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्नेहुँदा जतिसक्दो चाडो सरसफाई गर्ने उहाको भनाई छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij