प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३
काठमाडौ । बजारमा आयोडिनयुक्त नुनको हाहाकार हुने र भाउ बढ्ने हल्ला फैलिरहँदा साल्ट ट्रेडिङ कर्पोरेशनले भने ६ महिनासम्म पुग्ने नुन मौज्दात रहेको जनाएको छ । कर्पोरेशनले अहिले पनि ९० हजार मेट्रिकटन नुन स्टक रहेको जनाएको हो । 
बजारमा भारतीय ठूला नोटमा लगाइएको प्रतिवन्धपछि भारतमा समेत नुनको अभाव हुन थालेको र नेपालमा समेत त्यसको असर पर्ने हल्ला फैलिएको छ । व्यापारीले अनुचित लाभ लिन यस्तो हल्ला फैलाएका कारण अहिले सर्वसाधाणमा त्रास देखिएको छ ।
दैनिक जीवनमा सवैभन्दा अत्यावश्यक नुनको अभाव हुने हल्लाले सवैमा त्रास देखिएको हो । तर, कर्पोरेशनले भने यो हल्लाको पछि नलाग्न र नुनको अभाव नहुने भन्दै सर्वसाधारणमा सचेत गराएको छ ।
कर्पोरेशनका विभागीय प्रवन्धक ब्रजेश झा यस्तो हल्लाकापछि कसैलाई पनि नलाग्न सुझाव दिन्छन् । ‘साल्ट ट्रेडिङसँग नेपाली उपभोक्तालाई ६ महिनासम्म पुग्ने नुन स्टक छ’, झाले रातोपाटीसँग भने, ‘यस्तो अभाव हुने हल्ला विलकुल गलत हो, त्यसकोपछि नलाग्न म सवैमा अनुरोध समेत गर्छु ।’ उनले हरेक बर्ष नेपालमा एक लाख ८२ हजार मेट्रिकटन नुन खपत हुने गरेको जानकारी दिए । त्यसको आधा नुन अझै कर्पोरेशनसँग मौज्दात रहेकाले कुनै अभाव हुने सम्भावना समेत नरहेको उनको भनाइ छ ।
भारतीय ठूला नोटको प्रतिवन्धले भारतका दिल्ली, मुम्वई लगायतका शहरमा नुनको अभाव हुने हल्ला फैलिएको उनले जनाए ।
तर, भारत आफैं नुन उत्पादन गरेर अन्य मुलुकमा निर्यात गर्ने भएकाले त्यहाँ पनि कुनै अभाव नरहेको र नेपालमा अभावको कुनै सम्भावना समेत नरहेको झाको भनाइ छ । नेपाली बजारमा केही व्यापारीले अभावको हल्ला फैलाएर अनुचित लाभ लिन खोजेको वुझिएको छ ।
नुनको अभाव हुने हल्लाका कारण कृतिम मुल्य वृद्धि हुने, अनावश्यक खरिद र स्टक राख्ने काम हुने गरेको छ । सर्वसाधारणले हल्लाको पछि लागेर स्टक राख्दा बजारमा समेत कालावजारी मौलाउने र कृतिम अभाव हुने गरेको कर्पोरेशनको भनाइ छ ।
त्यस्तो स्टक नराख्न र अनावश्यक हल्ला नगर्न पनि कर्पोरेशनले सर्वसाधाणलाई आग्रह गरेको छ । कर्पोरेशनले लामो समयदेखि नेपालमा आयोडिनयुक्त नुनको बिक्रि वितरण गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij