शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

एक लाखले भरे प्रसिद्ध धार्मिक मेला डिग्रे

  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३



  • राप्ती अञ्चलकै प्रसिद्ध धार्मिक मेला डिग्रेको आज अन्तिम दिन विशेष मेला लागेको छ । हरिबोधनी एकादशिदेखि सुरु भएको मेला सोमबार विधिवत रुपमा सम्पन्न भएको छ ।  पूजा, पाठ तथा मेला सुरु भएदेखि अन्तिम दिन म्म करिव १ लाख भक्तजनले पूजा पाठ तथा मेला भरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले दावी गरे । ‘पूजा पाठ सुरु भएको दिनदेखि मेला समापनको दिन आज सम्म १ लाख जना त पुगे होला’ अध्यक्ष केसीले भने ।

    भगवती देवीको माग अनुसार नै डिग्रेमा मेला लाग्न सुरु गरेको विश्वास गरिन्छ । परापूर्वकालमा थर्पुका गौतमहरुले चराउन जंगल लिएका गाई देवीकै कारण घर आउन मानेका थिएनन् र देवीले गाईको दुध चढाउन आग्रह गरेकी थिइन् । गाईको दुध चढाइएपछि गाईलाई घर ल्याउन सकिएको किंवदन्ती छ । हरेक दिन गाईको दुध देवीको लागि चढाउनुपर्ने र हरेक एक वर्षमा देवीको वाण बाघको लागि बोकाको बलि दिनुपर्ने तथा देवीको सुरक्षाको लागि जनजातिहरुले लठ्ठी नाँच नााच्ने गरेको भनाई स्थानीयको छ । दैनिकजसो पूजापाठ हुने हुनाले देवीलाई गाईको दुध पुगेको भएपनि देवीको वाणको लागि पनि मेला लाग्ने गरेको बताइन्छ । हालको मुसिकोट नगरपालिका तथा नगरपालिका घोषणा हुनु अघिको साँख गाविसबाट आउने  मगर सगालहरुको लठ्ठी नाँच देवीको सुरक्षाको लागि भएको विश्वास गरिन्छ ।

    धन, जन र अन्न वरदानको विशेषता बोकेको डिग्रे शाइकुमारी भगवती देवीको छत्रछायाामा लाग्ने धार्मिक मेलाको महत्व बढ्दै गइरहेको छ । परापूर्वकालदेखि लाग्दै आएको यो धार्मिक मेलामा विशेष गरी पछिल्ला केही वर्षदेखि दर्शालुहरु बाक्लिन थालेका छन् । मनले चिताएको कुरा पूरा हुने तथा सन्तान प्राप्तीको धार्मिक विश्वासका साथ तीर्थयात्रीको संख्यामा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । धन, जन र वरदान मागेकाको इच्छा पूर्ति भएकाहरु दोहोर्‍याएर मन्दिर तथा मेला भर्न पुग्ने गर्दछन् ।

    हरेक वर्षको कार्तिक पूर्णिमाको अवसर पारी लाग्दै आएको डिग्रे धार्मिक मेला सुरु भएको आधिकारीक जानकारी कतै रहेको पाइन्न । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा १६४१ सालको घन्ट भेटिएको छ । १६४१ सालको घन्ट भेटिएपनि मन्दिरमा पूजा,अर्चना दर्शन तथा मेला भर्ने कार्य भने त्यो अघिदेखि नै भएको मानिन्छ । व्यवस्थापन समितिका अध्यक्ष केसीले १६४१ सालको घन्ट भेटिएपनि मेलाको सुरुवात भने त्यो समय भन्दा अघि नै भएको अनुमान रहेको बताए । बताइन्छ भने मन्दिर नजिकै रहेका रहेका पानीका धारामा मेलामा मान्छे बढेसँगै पानी पनि बढ्ने गरेको विश्वास छ ।

    सदावहार पूजापाठ हुने भएपनि डिग्रे मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको तिथिमा विशेष महत्वका साथ देशका विभिन्न भू–भागबाट मन्दिर दर्शन तथा मेला भर्नका लागि दर्शनार्थीहरु आउने गर्दछन् । हरेक हरिबोधनि एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । एकादशीदेखि नै मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्न थालिाहल्छ । पाँच दिनसम्म पूजा पाठ गर्ने तथा मेला भर्नेहरुको संख्या निरन्तर उकालोमा हुन्छ । विशेष गरी मन्दिरमा शान्तिका लागि परेवा उडाइन्छ भने पूर्व भाकल गरेका तथा मागेको पुगेकाले बलि चढाउने गर्दछन् ।

    जिल्लामा धेरै आम्दानी गर्ने मध्येका डिग्रे शाइकुमारी मन्दिर पनि पर्दछ । मन्दिरको नाममा रहेको गुठीको जग्गा र हरेक वर्षको मेलामा दर्शनार्थीबाट चढाइएको भेटीबाट मन्दिरमा आम्दानी हुने गर्दछ । मुसिकोट नरपालिकाको छिमेकी गाविस स्यालापाखाको धपेमा २७ रोपनी खेत मन्दिरकै नाममा छ भने वर्षेने ७ देखि ९ लाख रुपैयाँ सम्म कार्तिक मेलाको अवसरमा भेटी स्वरुप मन्दिरमा जम्मा हुने गर्दछ ।

    यो वर्ष दर्शनार्थीको भेटी मात्रै ६ लाख बढी हुने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यष लालबहादुर केसीले बताए । उनका अनुसार भेटी गणना गर्न भने केही दिन लाग्ने बताइएको छ । यस वर्ष बोकाको टाउका विक्री गरेर मात्रै साढे चार लाख आम्दानी हुने अुनमान मन्दिर व्यवस्थापन समितिले गरेको छ । गत वर्ष टाउका विक्री गरेर चार लाख ६५ हजार पाँच सय रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष १ हजार बढी बोका चढाइएको छ ।  मन्दिर चढाइएका बोकाको टाउका प्रति केजी ३ सय का दर विक्री गर्ने गरिएको छ ।

    मन्दिरमा पूजा पाठ गर्न तथा मेला भर्न रुकुम सहित सल्यान, रोल्पा, डोल्पा, जाजरकोट, सुर्खेत, दाङ, वाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, काठमाडौंको साथै भारतका केही ठाउँबाट पनि दर्शनार्थीहरु आउने गर्दछन् । यो वर्ष मेलामा विगतको भन्दा धेरै झाँकीहरु प्रस्तुत भएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । यस वर्ष मेलाकै अवसरमा प्याराग्लाइडिङबाट पुष्पवृष्टि गरिएको थियो । यसले मेलामा थप आकर्षण थपेका मेलामा सहभागिहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij