प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३
उदयपुर । आदिबासी थारु तथा तराई समुदायले मनाउने सामा—चकेवा पर्वको उदयपुरमा मनाईएको छ ।
कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिनदेखि कात्तिक पूर्णिमाको सम्म १५ दिन मनाईने उक्त पर्व उदयपुरका थारु समुदायले मंगलबार साँझ समा सेलाएर सम्पन्न गरेका छन् ।
मध्यरात्रिमा सम्पन्न हुने दाजु भाइ र दिदी बहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइने परम्परा रहेको पाइन्छ । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रका थारु समुदायले स्थानीय जोगी पोखरीमा सामाको सेलाएर समापन गरेका हुन ।
भाइ टिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले विधिवत रुपमा त्यसको भोलि पल्टदेखि नै पर्वको शुभारम्भ भएको मानिएको हो । यो पर्व थारु र मैथिलानी समुदायका महिलाहरुले मनाउने गर्छन । ग्रामीण क्षेत्रमा अझैं पनि पर्वको लोकप्रियता कायम छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्व प्रतिको आकर्षणमा कमी आएको महशुस गर्न थालिएको छ ।
काँचो माटोले बनाइएका मानव, चरा र जनावर लगायतका मूर्तिलाई ‘सामा’ र
सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ ।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन, उसका दाजु भाइ दीर्घायु हुने बरदान दिएकाले यो पर्व मनाउन थालिएको स्थानीय देवी चौधरीले बताउनु भयो ।
१५ दिन सम्म दिदी बहिनीहरुले बेलुकीको समयमा दाजु भाइको प्रशंसाका साथै आशीष दिने खालका सामा गीत गाउने प्रचलन रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij