प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३
‘रामायण’ धारावाहिकमा ‘विभिषण’ को भूमिकाका लागि चर्चित भएका अभिनेता मुकेश रावलको मुम्बईमा मृत्यु भएको छ । मुम्बइको उपनगर कांदीवलीमा रेलको ट्र्याकमा रावललाई मृत पाइएको हो । पुलिसका अनुसार रेलको ट्र्याक पार गर्दै गर्दा ६६ वर्षीय रावल रेलको मुनी आएका हुन् । उनको मृत्यु रेलले काटिएर भएको पुलिसले जानकारी दिएको छ ।
रेलवे पुलिस आयुक्त निकेत कौशिकका अनुसार उनको शव मंगलबार बिहान ९ः३३ मा पाइएको थियो तर अभिनेताका परिवारले उनको सनाखत बुधबार मात्रै गरेका थिए । रावलको शव बोरीवली र कांदीवली रेलवे स्टेशनको बिचको ट्र्याकमा पाइएको हो ।
शवमा केही पनि नभेटिएकाले उनको तत्काल पहिचान गर्न नसकिएको पुलिसले बताएको छ । रेलवेको सबै पुलिस थानामा उनको फोटो जारी गरिएको थियो । रावलको खोजी गर्दै उनका ज्वाईं कांदीवली रेलवे स्टेशनमा आएपछि उनको सनाखतको लागि अस्पताल पठाइएको थियो ।
पोर्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइएको पुलिसले बताएको छ । ‘रामायण’ का साथै रावलले गुजराती फिल्म र अन्य टेलिभिजन धारावाहिकमा अभिनय गरेका छन् । उनी आजकाल ‘नस नस मे खुन्नस’ नामक टिभी सिरियलमा काम गरिरहेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij