प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
म्याग्दी । बेनी जोमसोम सडक अन्तरगत म्याग्दीको बैसरीमा कालीगण्डकी नदीमा जिप खस्दा एक जना वेपत्ता भएका छन् ।
बेनी देखि घार तर्फ जादै गरेको ग २ च ३६६० नम्बरको बोलेरो जिप कालीगण्डकीमा खस्दा सवारी धनी समेत रहेका चालक घार ३ का ३६ वर्षिय रमेश खड्का वेपत्ता भएका हुन् ।
मंसिर ७ गते साँझदेखि वेपत्ता भएका चालक र जिप अझै फेला पर्न सकेको छैन् । सडकको छेउ धसारीएको र नदीको बिचमा हराएको जिपमा सामान राख्न प्रयोग गर्दै आएको त्रिपाल अड्कीएको अवस्थामा भेटिएको म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
मंगलबार साँझ ८.१४ मा परिवारसंग बैसरी नजिकै आउदै गरेको बताएका खड्का बिहानसम्म घर नपुगेको र फोन सम्र्पक नभएपछि आफन्तले बुधबार भुरुङ तातोपानी प्रहरी चौकीमा सूचना गरेका थिए । मैदा, अण्डा लगायतका सामान जिपमा राखेर मंगलबार साँझ ५ बजे बेनीबाट घरतर्फ गएका थिए । जिपमा उनि एक्लै थिए ।
बिहीबार दिउँसो स्थानीयबासीले नदीको बिचमा त्रिपाल तैरीएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका वेपत्ताका आफन्तले नदीको बिचमा देखिएको त्रिपाल खड्काले चलाउने गाडीमा सामान छोप्न प्रयोग गरिदै आएको बताएका छन् ।
नदीको बिचमा अड्कीएर तैरीएको पाल, सडकको डिल तिर जमिन धसारीएको र वेपत्ता हुनुअघि खड्काले परिवारसंग गरेको कुराकानीको आधारमा सो स्थानबाट जिप खसेको अनुमान गरिएको प्रनाउ खड्काले बताए ।
जिप खसेको ठाउँमा गहिरो तलाउ, नदीको तिब्र बेग र पहाडको फेदी भएकाले खोजीको प्रयास गरेपनि जिप र वेपत्ता व्यक्ति फेला पर्न सकेका छैनन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, प्रनाउ खड्का, प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरु र नेपाली सेनाको श्रीबक्स गुल्मको टोलीले बिहीबार साँझ निरिक्षण गरेको छ ।
वेपत्ताको खोजीका लागि शुक्रबार प्रहरी, सेना र शशस्त्र प्रहरीको उद्धार टोली परिचालन गर्ने प्रजिअ आचार्यले बताए ।
स्थानीय स्रोत, सधान र जनशक्तिले नभ्याए शशस्त्र प्रहरीको गोटाखोरको टोली समेत झिकाउने तयारी भएको छ ।
बेनी जोमसोम सडक अन्तरगत कालीगण्डकी नदीमा खसेर यसअघि दुई वटा सवारी साधन वेपत्ता भएका थिए । २०७१ मा बैसरीमा टिपर खसेर हराएको थियो भने २०६५ सालमा तिप्ल्याङ नजिकै भिरबाट खसेको मोटरसाईकल सहित एक जना वेपत्ता भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij