प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
काठमाडौं । निजगढ द्रुतमार्ग (फास्टट्रयाक) र वारामा निर्माण हुने भनिएको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तिब्र गतिमा अघि वढाउन दवाव दिने उदेश्यले वाराका युवाहरुले वाराबाट काठमाण्डौंसम्म पैदलयात्रा गर्ने भएका छन्। तीन दशक अघिदेखि चर्चामा रहेका योजनाहरु अहिलेसम्म पूरा हुन नसकेकाले काठमाडौंलाई झक्झक्याउन यहि मंसिर १७ गतेदेखि २० गतेसम्म वारादेखि काठमाण्डौंसम्म पैदलयात्रा गर्न लागेको अभियानका संयोजक रविराज दङ्गालले जानकारी दिए ।
दंगालको संयोजकत्वमा गठित फास्टट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिले यतिबेला हस्ताक्षर संकलन र रु.एक संकलन कार्यक्रम धमाधम अघि वढारहेको छ। जुझारु युवाहरूको यो अभियानलाई स्थानीय राजनीतिक दल,उद्योगी,ब्यवसायी र जनताले स्वतस्फूर्त सहयोग गरिरहेका छन्। अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत अभियन्ताहरुले यतिबेला निजगढ सहित बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानमा जनताका घरदैलोमा पुगी हस्ताक्षर संकलन गरिरहेका छन्।
त्यसक्रममा सांकेतिक रुपमा ‘फास्टट्रयाक र एयरपोर्ट निर्माणका निम्ति रु.१ लगानी गरौं’ भन्दै घरघरमा पुगेर रकम तथा हस्ताक्षर संकलन गर्ने र काठमाडौं पुगेर प्रधानमन्त्री एवं प्रमुख पार्टीका शिर्ष नेतालाई भेटेर बुझाउने कार्यक्रम रहेको छ।
दवाव आन्दोलन अन्तर्गत एक सय दिने रिले अनशन, राष्ट्रिय सभागृहमा डकुमेन्ट्रि प्रदर्शन, सरोकारवालाहरुसंग अन्तर्क्रिया लगायतका कार्यक्रम पनि सार्वजनिक गरिएको संयोजक दंगालले वताए।
सरकारले फास्टट्रयाकलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको छ।हालै भारतीय कम्पनी आईएल एण्ड एफसलाई दिइएको निर्माण सम्झौता रद्द गरि आफैं वनाउने निर्णयको चौतर्फी स्वागत भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij