प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
जिल्ला कारागारमा संरक्षणविहीन २ बालकलाई कपिलवस्तुस्थित बालगृहमा पठाइएको छ । अभिभावकको संरक्षण पाउन नसकेका अरू दुईलाई समेत नेपाल बाल संगठनद्वारा सञ्चालित उक्त बालगृहमा पुनस्र्थापित गरिएको हो ।
जिल्ला बाल कल्याण समितिका अनुसार कारागारका ४ मध्ये ५ वर्षमुनिका २ बालकलाई बाल कल्याण समिति, कारागार प्रशासन र अभिभावकसँगको समन्वयमा पठाइएको हो । थबाङ ९ का ३ वर्षीय शतिमान पुन र इरिबाङ १ का २ वर्षीय हुकुम पुनलाई बालगृह प्रमुख रामप्रसाद अर्यालले लगेका हुन् । जिल्ला बाल अधिकार अधिकृत गोकर्णप्रसाद पुनका अनुसार उनीहरूलाई सोमबार बालगृह पठाइएको हो ।
कारागारका कैदी र थुनुवाका अरू दुई बालिका छन् । उनीहरूलाई राजधानीस्थित अर्को संस्थाले उचित स्याहारसंहार, संरक्षण र पठनपाठन व्यवस्था गर्ने सर्तमा लैजाने तयारी गरिएको छ । कारागार प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार ३ वर्षका शतिमान जेलमै जन्मिएका हुन् । गत चैत ३ गते श्रीमान् र सासूको हत्या अभियोगमा रोल्पा अदालतले शतिमानकी आमा दिलकुमारीविरुद्ध कर्तव्य ज्यान मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला सुनाएको हो । दिलकुमारी भने करिब ४ वर्षयता कारागारमै छिन् ।
मामाघरमा बस्दै आएका दिलकुमारीका अरू दुई छोराहरू ६ वर्षका प्रशान्त र ८ वर्षका प्रमोचनलाई पनि उक्त बालगृहमा लगिएको हो । घरमा अभिभावक नभएपछि बालबालिकाको लालनपालन होस् भनी सबै छोरा बालगृह पठाउन राजी भएको दिलकुमारीले बताइन् । बालगृह पुर्याइएकामध्ये दिलकुमारीका ३ छोरा हुन् ।
यस्तै २ वर्षको हुकुम पुनकी आमा विमला चार महिनादेखि रोल्पा कारगारमा छिन् । विमलामाथि आफ्नै जेठाजुका छोराको हत्या अभियोग छ । कर्तव्य ज्यान मुद्दाबारे अदालतले भने अझै अन्तिम फैसला सुनाइसकेको छैन । विमलासँगै त्यही अभियोगमा उनका देवर पनि थुनामै छन् । विदेशमा लामो समय बसेर घरमा आएका विमलाका श्रीमानले भने अर्को विवाह गरिसकेका छन् । श्रीमानसँगका सम्बन्ध राम्रो नभएकाले सानो छोरालाई श्रीमानलाई हस्तान्तरण गर्न नचाहेको विमलाले सुनाइन् । छोराको सुरक्षाका लागि बालगृह पठाएको उनले बताइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij