प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३
काठमाडौँ । बौद्ध तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा महायानी बौद्ध अनुयायीले आज विशेष पूजा (फुर्दोग) गरेका छन् ।
तिब्बती पात्रोको नौ महिनाको अन्त्यतिर गरिने उक्त पूजामा सम्पूर्ण प्राणी जगत्को रक्षा, मानवकल्याण एवम् विश्वशान्तिको कामना गरिएको छ । यही मङ्सिर ८ गते बिहानैदेखि आजसम्म वर्ष दिनको ग्रहदशा र रोगव्याधिबाट निवारण गर्न आवश्यक प्रक्रिया पूरा गरिएको थियो । तान्त्रिक देविदेवीलाई स्मरण गर्दै विभिन्न तोत्र तथा मन्त्र पनि पाठ गरिएको थियो ।
‘ह्योल्मो ङाग्छ्याङ शाक्य साङ्पो दुङ्गी लाछोग’ नामक सामाजिक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा अन्त्यमा अनिष्टलाई कृत्रिम भूत बनाएर बाजा बजाउँदै जलाइएको थियो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एनबी लामाले प्राचीन समयमा सिन्धुपाल्चोकको ह्योल्मोमा प्रथम टुल्कु तेर्तेन (निधि–पति) ले ङाग्छ्याङ शाक्य साङ्पोका वंशकम लामाबाट यस किसिमको पूजा गरेको विश्वास रहेको जानकारी दिए ।
पूजाको समापन कार्यक्रममा गुम्बा विकास समितिका अध्यक्ष खेम्पो कर्मा लेग्सेले खराब तत्वको अन्त्य गरी प्राणीको बिघ्नबाधा न्यूनीकरण गर्न गरिने यस्तो पूजामा सहभागी भएमा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij