शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पचासी प्रतिशत अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

  • प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७३



  • काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको २५औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ ।

    ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने मूलनाराका साथ मनाउन लागिएको दिवसको अवसरमा मूलसमारोह समितिले सुरु भएको प्रभातफेरि प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपदेखि सुरु भएर पद्मोदय मोड, पुतली सडक हुँदै पुनः भृकुटीमण्डपमै पुगेर कोणसभामा परिणत भएको थियो ।

    सो अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अपाङ्गताको सवालमा संविधानमा व्यवस्था भएका अधिकारको कार्यान्वयनका साथै अपाङ्गता सम्बन्धी ऐनलाई संसद्बाट पारित गर्नका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। अपाङ्गताको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले गर्नसक्ने कामका लागि सो क्षेत्रको अध्ययन गर्न मन्त्रालयले सम्बन्धित क्षेत्रलाई समेटेर समिति गठन गर्ने तयारी गरिरहेको मन्त्री थापाको भनाइ छ ।

    राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिको पक्षमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान र प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

    सन् २०१५ मा नेपालका ५९ जिल्लाका चार हजार घरधुरीमा अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सम्बन्धी गरिएको एक वृहत अध्ययनले समेत शिक्षा, स्वास्थ्य र रोजगारीलगायत न्यूनतम आधारभूत अधिकारमा अपाङ्गता भएका व्यक्तिको पहुँच अत्यन्त न्यून रहेको देखाएको छ ।

    शिक्षा विभागको तथ्याङ्कअनुसार विद्यालय बाहिर रहेका कूल विद्यार्थीमध्ये झन्डै ८५ प्रतिशत अपाङ्गता भएका बालबालिका रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०६८ र योजना आयोगले त्यसै सेरोफेरोमा गरेको नेपालीको जीवनस्तर अध्ययन प्रतिवेदनले पनि कूल जनसङ्ख्याको २ देखि ३ प्रतिशत मानिसमा अपाङ्गता रहेको देखिन्छ ।

    अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६ र अपाङ्गता सम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्ययोजनालगायत विभिन्न नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

    कुल अपाङ्गता भएका व्यक्तिको सङ्ख्याको झन्डै ८० प्रतिशत हिस्सा अल्प विकसित वा विकासोन्मुख मुलुकमा छ भने विकासोन्मुख मुलुकभित्र पनि अधिकांश अपाङ्गता भएका व्यक्ति गरिबीको रेखामुनी रहेका छन् ।

    अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसलाई अपाङ्गता भएका व्यक्तिका अधिकारलाई विश्वभर एकसाथ उठान गर्ने, वर्षभरिका कामलाई समीक्षा गर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा जनमानसमा चेतना तथा जानकारीको अभिवृद्धि गर्ने र आगामी दिनमा त्यस क्षेत्रमा गरिने कामको बारेमा प्रतिवद्धता जनाउने दिनको रूपमा मनाइँदै आएको पाइन्छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ देखि विश्वमा यो दिवस मनाउन सुरू गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij