शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मुस्ताङमा सांस्कृतिक राजाका रूपमा मान्यता दिँदै,‘मुस्ताङी युवराज’ ले गरे विवाह

  • प्रकाशित मिति : बिहिबार, असार २१, २०८०



  • हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङस्थित पूर्वमानार्थ मुस्ताङी युवराज झिक्मी धिन्डुप फुन्छोक परवल विष्टले सोमबार विवाह गरेका छन् । विष्टले ताप्लेजुङ पुर्ख्यौली घर भई हाल काठमाडौं निवासी छिरिङ यान्चेन उक्याबसँग बौद्ध परम्पराअनुसार विवाह गरेका हुन् ।

    उपल्लो मुस्ताङको लोमन्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा अहिले पनि झिक्मी धिन्डुप फुन्छोक परवल विष्टलाई सांस्कृतिक राजाका रूपमा मान्यता दिँदै आएका छन् ।

    नातेदारका अनुसार लोघेकर–दामोदरकुण्ड गाउँपालिका मुकाम रहेको चराङस्थित छामा डिकी विष्ट (दुलहीको आमाकी बैनी) को घरमा रहेकी बेहुली छिरिङ यान्चेन उक्याब लिन दुलाहा विष्ट २ सय ७० बढी घोडा सवार जन्तीसहित पुगेका थिए । विष्टले बेहुलीलाई दिउँसो २ बजे लोमन्थाङस्थित रोयल मुस्ताङ रिसोर्टमा भित्र्याएका थिए । रिसोर्ट प्राचीन मुस्ताङी दरबार क्षेत्र रहेको माटोको सहर लोमन्थाङ बस्तीभन्दा बाहिर छ ।

    दुलाहा विष्टका निकट नातेदार तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष छोप्पेल लोप्चन विष्टका अनुसार दुलही यान्चेनले अस्ट्रेलियाबाट स्नातकोत्तर गरी हाल काठमाडौंमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी छन् । दुलाहा विष्ट लोमन्थाङमा रोयल मुस्ताङ रिसोर्ट सञ्चालन गर्छन् । आफन्त विष्टका अनुसार तीन दिनसम्म मान्यजन, लामाहरू, आफन्त, आमन्त्रित र सर्वसाधारणले नवविवाहित दम्पतीलाई खादा अर्पण गरी आशीर्वाद दिने कार्यक्रम छ ।

    विश्व सम्पदा सूचीमा प्रस्तावित कालीगण्डकीको उद्गमस्थल मुस्ताङको उपल्लो भेग लोमन्थाङ इतिहास, संस्कृति र कला वास्तुकलाको दृष्टिले महत्त्वपूर्ण छ । मुस्ताङ वि.सं. १८४६ देखि बृहत् नेपाल राष्ट्रमा गाभिएको हो । मुस्ताङी अन्तिम राजा (पूर्वराजा) जिग्मे परवल विष्टले दाजुको छोरा जिग्मे सिङगे परवल विष्टलाई उत्तराधिकारी घोषणा गरेका थिए ।

    ०४६ सालपछि मानार्थ राजाका रूपमा रहेका थिए । देशमा गणतन्त्र घोषणासँगै नेपाल सरकारका तत्कालीन गृहमन्त्री वामदेव गौतमले लोमन्थाङ दरबारमा पुगेर मानार्थ राजाको पगरी फिर्ता भएको जिग्मे परवल विष्टलाई जानकारी गराएका थिए । सरकारले औपचारिक रूपमा राज्य रजौटाहरू अन्त्य गरे पनि व्यावहारिक रूपमा उपल्लो मुस्ताङमा राजालाई मान्ने प्रचलन हटेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij