प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने चेतावनी दिँदै आवश्यक परे अमेरिकाले पूरै देश नियन्त्रणमा लिन र त्यहाँको सम्पूर्ण तेल कब्जा गर्नसक्ने दाबी गरेका छन्।
फ्लोरिडामा आयोजना हुने जनसभामा प्रस्थान गर्नुअघि ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानविरुद्ध थप आक्रामक बन्ने संकेत गरे। उनले इरान अहिले निकै कमजोर भइसकेको र प्रतिकार गर्ने हैसियतमा नरहेको जिकिर गरे।पत्रकारहरूसँगको संवादमा उनले भने, “इरानले अहिले धेरै केही गर्न सक्ने अवस्था छैन। यदि हामीले चाहेको खण्डमा त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ, पूरै देश नै आफ्नो नियन्त्रणमा लिन सक्छौँ।
रणनीतिक स्ट्रेट अफ हर्मुज जलमार्ग पनि पूर्ण रूपमा हाम्रो नियन्त्रणमा छ।”संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने भनी दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिकाले चाहेमा यो विवाद तुरुन्तै समाप्त गर्न सक्ने धारणा राखे। उनले भने, “हामी यसलाई निकै छिटो टुङ्ग्याउन सक्छौँ। प्रश्न केवल यति हो– के हामी यसलाई तत्काल सिध्याउन चाहन्छौँ वा बिस्तारै कमजोर हुन छाडिदिने हो?”ह्वाइट हाउसको भनाइपछि फ्लोरिडामा आयोजित जनसभालाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको सम्भावनालाई जोड दिए। उनले गत फेब्रुअरी २८ मा इजरायलसँगको समन्वयमा सञ्चालन गरिएको वृहत सैन्य कारबाही ‘अपरेसन एपिक फ्युरी’ लाई स्मरण गराउँदै फेरि त्यस्तै कडा प्रहार हुनसक्ने बताए।
अमेरिकी मध्यावधि निर्वाचनलगत्तै अमेरिकी र इजरायली सेनाले इरानका रणनीतिक संरचनाहरूलाई लक्षित गरी नयाँ आक्रमणको योजना तयार पारेको खबरहरू बाहिरिएका बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो। यद्यपि, राष्ट्रपति ट्रम्पले आगामी दिनमा नयाँ सैन्य आक्रमणका लागि अन्तिम अनुमति दिन्छन् वा दिँदैनन् भन्ने विषय भने अझै अनिश्चित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij